काठमाडौँ । नेपालीहरूको प्रमुख चाडपर्व दसैँ, तिहार र छठ नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ । चाडपर्वको समयमा उपभोग बढ्ने र बजारमा माग उच्च हुने मौका छोपेर विभिन्न वस्तुको मूल्य बढाइँदा उपभोक्ता थप मारमा परेका छन् ।
चाडपर्वका लागि आवश्यक खाद्यान्न, तरकारी, दाल, चामल, तेल, घिउ, चिनी, मसला, फलफूल तथा मासुजन्य वस्तुको माग बढेसँगै बजारमा मूल्यसमेत बढेको उपभोक्ताको गुनासो छ । नियमित उपभोगका वस्तुको मूल्य बढ्दा चाडपर्वमा हुने अतिरिक्त खर्च व्यवस्थापन गर्न सर्वसाधारणलाई कठिन भएको छ ।
शान्तिनगर बसोबार गर्दै आएकी प्रमिला पछिल्लो समय दैनिक उपभोग्य पस्तुको मूल्य वृद्धिले भान्सा चलाउनै मुस्किल परेको बताउँछिन् । ‘गत वर्ष तिर चाँडपर्वको समयमा केही मात्रामा मूल्य वृद्धि हुने गरेको थियो ।’ उनले भनिन्, ‘तर यस वर्ष त अत्याधिक नै बढेको छ ।’
उनका अनुसार, अहिले बजारमा ग्यास भनेको समयमा पाउन सकिएको छैन । एउटा सिलिण्डर ग्यासका लागि हप्तौँ कुर्नुपर्छ । खानेकुराहरु तेल, चामल, लगायतका वस्तुको मूल्य वृद्धिले घर चलाउनै मुस्किल परेको उनी बताउँछिन् ।
कतिपय वस्तुको मूल्य वृद्धि मात्र नभई अभाव पनि देखिएको उनको भनाई छ । ‘दशैँमा घर जाँदा केही सामान लैजानुपर्ने तर बजारमा महँगीले किनिसक्नु छैन ।’ उनले भनिन् ।
सोही स्थानमा किराना स्टोर सञ्चालन गर्दै आएका भवगती किराना स्टोरका सञ्चालन किशोरले सडक तथा ढुवानीको अवस्थाका कारण खाद्यान्नको मूल्यमा वृद्धि भएको बताए । ‘हामीले होलसेलबाट नै महँगोमा ल्याउनु परेको छ ।’ उनले भने, ‘त्यही पनि आफुले मगाएको जति सामान दिँदैनन् ।’
उनका अनुसार, चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मागसमेत बढ्दै गएको छ ।सामान्य समयको तुलनामा अहिले उपभोक्ताले चाडपर्वका लागि आवश्यक खाद्यान्न खरिद गर्न थालेकाले बजारमा माग बढेको उनले जानकारी दिए ।
नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार वैशाखको तुलनामा असोजमा जिरामसिनो चामल प्रतिकिलो ९५ रुपैयाँबाट १०५ रुपैयाँ पुगेको छ । मासको दाल २०० बाट २२० पुगेको छ भने रहर दाल २२० बाट २३० र चना दाल १५० बाट १८० रुपैयाँ पुगेको छ ।
खानेतेलको मूल्य त्यत्तिकै आकाशिएको छ । बैशाखमा काँचो तोरीको तेल प्रतिलिटर ३७५ मा पाइन्थ्यो भने अहिले ४०० रुपैयाँ पुगेको छ । त्यस्तै, सनफ्लावर तेल २९५ बाट ३०५ रुपैयाँ पुगेको छ । चाडपर्वको समयमा सबैभन्दा बढी प्रयोग हुने वस्तुमध्ये चिनी पनि एक हो । दसैँ, तिहार तथा छठमा मिठाइ, सेलरोटी, परिकार तथा अन्य खाद्य सामग्री बनाउन चिनीको प्रयोग बढ्ने गर्छ । तर बजारमा चिनीको आपूर्ति सहज हुन नसक्दा यसको मूल्यमा समेत दबाब परेको छ । चिनी पनि ९५ बाट ११० रुपैयाँ पुगेको छ ।
दशैँमा अधिक माग हुने धनियाँको धुलोमा पनि उच्च वृद्धि देखिएको छ । प्रतिकिलो ३५० रुपैयाँमा पाइने धनियाँ धुलो अहिले ४५० रुपैयाँसम्म पुगेको छ ।
पछिल्लो समय तरकारीको मूल्य पनि उत्तिकै महँगिएको छ । राजमार्ग खुलेपछि पनि तरकारीको मूल्यमा अपेक्षित सुधार नआएको र केही वस्तुको मूल्य निकैमाथि गएको पछिल्ला विवरणहरुमा उल्लेख छ । बाढीपहिरोका कारण सडक तथा ढुवानीमा आएको अवरोधले आपूर्ति शृङ्खला प्रभावित हुनु मूल्य बढ्नुको एउटा कारण बनेको देखिन्छ । तर, बाटो सहज भइसक्दापनि बजारमा खाना पकाउने ग्याँसको भने हाहाकार नै छ ।
पछिल्लो समय बजार यति महँगी बढीरहँदा बजार अनुगमनको जिम्मेवारी पाएको नियामक निकाय वाणिज्य विभाग भने अनुगमन भइरहेको र कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्ने दाबी गर्दै आईरहेको छ । तर, बजारमा भने नियामक निकायको नियमन र नियन्त्रणको प्रत्यक्ष प्रभाव देख्न नसकिएको उपभोक्ताको गुनासो रहेको छ ।
चाडपर्वकै बेलामा उपभोक्ताले चौतर्फी दबाव झेल्नुपरेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताएका छन् ।
उनका अनुसार, चाडपर्व उपभोक्ताका लागि खुसी र पारिवारिक भेटघाटको अवसर हो । तर, यही समयमा अत्यावश्यक वस्तुको मूल्य बढ्ने, अभाव सिर्जना हुने र यात्रुको बाध्यतालाई व्यापारिक अवसर बनाउने प्रवृत्ति दोहोरिइरहने गरेको देखिन्छ । अझ उद्योगी, व्यवसायी र व्यापारीले भने यही समयलाई वर्षभरको नाफा उठाउने समयको रुपमा हेर्ने गरेको उनको भनाई छ ।
पछिल्लो समय ढुवानी लागत वृद्धि हुँदा खाद्यान्नको मूल्य बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीले बताएका छन् ।
‘बाढीपहिरोका कारण सडकमा समस्या हुँदा खाद्यान्न ढुवानीमा कठिनाइ भएको छ ।’ उनले भने, ‘त्यसको असर बजार मूल्यमा परेको हो ।’
उनका अनुसार, सडक सहज भएपछि ढुवानी लागतसमेत घट्ने र त्यसको असर खाद्यान्नको मूल्यमा पर्ने छ । चाडपर्वको समयमा कालोबजारी तथा अस्वाभाविक मूल्य वृद्धि हुन सक्ने भएकाले विभागले बजार अनुगमनलाई तीव्र बनाएको किरातीले बताए । बजार अनुगमनका लागि फरक–फरक टोली गठन गरी विभिन्न क्षेत्रमा अनुगमन भइरहेको उनको भनाई छ ।







