काठमाडौँ । एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बाँडफाँड सम्पन्न भएको छ। मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार ८० करोड रुपैयाँबाट बढाएर एक अर्ब रुपैयाँ कायम गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ।
निष्कासन तथा बिक्री प्रबन्धक एवं योजना व्यवस्थापक क्यापिटलका अनुसार बुधबार बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बाँडफाँड गरिएको हो। यो क्यापिटलले सञ्चालन गर्न लागेको छैटौँ बन्दमुखी योजना हो।
बाँडफाँडमा १०० देखि ३० लाख इकाईसम्म माग गर्ने योग्य आवेदकलाई मागअनुसार इकाई उपलब्ध गराइएको छ। त्यस्तै, ४० लाखदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकलाई प्रतिआवेदक ३८ लाख ९० हजार ५२५ इकाई बाँडफाँड गरिएको छ।
प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका आठ करोड इकाई निष्कासन गर्ने प्रारम्भिक योजना थियो। त्यसमध्ये बीज पुँजीबापत १५ प्रतिशत अर्थात् एक करोड २० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखी बाँकी छ करोड ८० लाख इकाई सार्वजनिक बिक्रीमा ल्याइएको थियो।
असोज ७ गते बिक्री खुलाइएको योजनामा पहिलो चार कार्यदिनमै मागभन्दा बढी आवेदन आएपछि असोज १३ गते बैंकिङ समयपछि निष्कासन बन्द गरिएको क्यापिटलले जनाएको छ। कुल ४१ हजार १८९ आवेदकबाट आठ करोड ७४ लाख ४४ हजार २०० इकाईका लागि आवेदन परेको थियो। यो सार्वजनिक निष्कासनको करिब १।२९ गुणा हो।
आवेदन रुजु गर्दा ४७ आवेदकको छ हजार २०० इकाईको आवेदन रद्द गरिएको छ। स्वीकृत विवरणपत्रमा बढी आवेदन आए योजनाको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्थाअनुसार आकार वृद्धि गरिएको क्यापिटलको भनाइ छ। बाँडफाँडको नतिजा एनआईसी एशिया क्यापिटलको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङको नतिजा पोर्टलबाट हेर्न सकिने जनाएको छ।







