बूढानीलकण्ठबाट बरामद सुनको तौल २१ किलो, मूल्य ५४ करोड


काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बिहीबार प्रहरीले बरामद गरेको सुनको तौल २१ किलो ७५०.६८ ग्राम रहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सुन हालको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको जानकारी दिइएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्न माथिल्लो भङ्गालस्थित चिनियाँ नागरिकले भाडामा लिएको एक घरबाट उक्त सुन बरामद गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार सुन बरामद भएको घर सुन तस्करीमा संलग्न समूहले गत साउनदेखि भाडामा लिएको पाइएको छ । उक्त घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको थियो । तस्कर समूहले घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तस्कर समूहले अर्धठोस अवस्थामा सुन ल्याएर बूढानीलकण्ठस्थित घरमा प्रशोधन गरी बिस्कुट आकारका ढिका बनाउने गरेको पाइएको छ ।

प्रहरीले सुन प्रशोधनमा प्रयोग गरिने उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजु, विभिन्न मेसिन तथा उपकरणसमेत बरामद गरेको छ । साथै, सुन तस्करीमा प्रयोग गरिएको बिवाइडी गाडी पनि नियन्त्रणमा लिइएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार प्रशोधन गरिएको सुन लिएर गाडीमा बाहिर निस्कँदै गर्दा चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिइएको हो । उक्त गाडी तस्कर समूहले भाडामा लिएर प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद सुन, गाडी र अन्य सामग्रीसहित पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १६ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।