दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर


डडेल्धुरा । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् ।

नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ सुरु भएपछि किसान यतिबेला खेतबारीमै व्यस्त रहनुपरेको हो । वर्ष दिनमा एकपटकमात्रै आउने दसैँ मनाउन घर फर्किएका समेत आफन्तसँग भेटघाटसँगै खेतबारीमै बालीनाली उठाउने कार्यमा रमाइरहेका पाइएको छ ।

पछिल्ला केही दिन यहाँका हरेक घरपरिवार बिहान सबेरै खेतबारी पुग्ने र साँझ अबेरमात्रै घर पुग्ने दैनिकी बनेको छ । अहिले दसैँभन्दा पनि किसानलाई बर्खेबाली भित्र्याउन व्यस्त रहनुपरेको भागेस्वर गाउँपालिका–४ की देवकी भट्ट बताउछन् ।

“मकै र धानबाली भित्र्याइएको छ, आजभोलि भटमास, सो्यालगायत दलहन बाली भित्र्याउन लागिएको छ”, उनले भने, “अहिले महिला विषेशगरी खर काट्नमै पनि व्यस्त रहेको पाइएको छ ।”

डडेल्धुराको भित्री मधेस आलिताल परशुरामका किसानलाई पनि आजभोलि धान काट्ने, बिटा बाँध्ने, झार्ने र भित्र्याउनमै व्यस्त रहेका छन् । केही दिनअघिसम्मको लगातारको वर्षाका कारण पाकेको धान भित्र्याउन अहिले पनि समस्या भइरहेको परशुराम नगरपालिका–४ का किसान यशोदा जोशी बताउछन् ।

“मिहिनेत गरेर फलाएको धानबाली भित्र्याउन नपाउने चिन्ता छ, मौसमले साथ दिए हुन्थ्यो” उनले भने, “दसैँभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ ।”

वर्ष दिनमा आउने चाडमा रमाइलो गरी मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय बित्ने गरेको किसानको भनाइ छ । बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले किसानलाई दसैँतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्तता रहेको अमरगढी नगरपालिका–७ का किसान कल्पना भट्टले बताए ।

उनले भने, “यो समय भनेको कामको चटारो हुने हो, महिला भने बिहान उज्यालो नहुँदै खेतमा पुग्छन्, खाना खानसमेत फुर्सद नहुने किसानलाई दसैँको रमाइलोबारे थाहा भए पनि काम सक्नमै ध्यान बढी हुन्छ, त्यसमै सन्तुष्ट हुनुपर्छ ।”

जिल्लामा सबैभन्दा बढी परशुराम नगरपालिकामा एक हजार २३७ हेक्टरमा क्षेत्रफलमा धान लगाइएको छ । जिल्लामा छ हजार १८८ हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए । जिल्लामा गत वर्ष बर्खे धान २१ हजार ४०० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।