दर्पणछाँया स्टारद्धय निरुता सिंह र उत्तम प्रधान अभिनित चलचित्र ‘सारथी’ को टिजर आउट, चिन्नै नसकिने अवतारमा निरुता


झण्डै ३ दशक पहिलेको ब्लकबस्टर चलचित्र दर्पण छाँयाका चर्चित कलाकार जोडी निरुता सिंह र उत्तम प्रधान फेरी एक साथ सँगै देखिने भएका छन् । दर्पणछाँया पश्चात चलचित्रमा खासै नदेखिएका उत्तम र झण्डै दशक बढी समयदेखि निस्कृयप्राय रहेकी निरुता लामो समयको अन्तरलापछि चलचित्रमा कमव्याक भएका हुन्, त्यो पनि एक साथ ।

लामो समयसम्म सँगै पर्दामा नआएका निरुता र उत्तम अभिनित चलचित्र सारथीको टिजर सोमबार सार्वजनिक गरिएको छ । टिजरमा दर्शकले निरुतालाई चिन्न सक्दैनन् । कारण, निरुतालाई नेपाली दर्शकले विगतमा पर्दामा देखेकोभन्दा फरक चरित्र टिजरमा देखाइएको छ । न त पर्दामा सम्धै देखिएकी निरुता, न त सामान्य जीवनमा देखिने निरुता, उनलाई टिजरमा एक शशक्त आमाको रुपमा देखाइएको छ । जहाँ आफ्नो बच्चालाई काखमा बोकर थकित मुद्रामा बसेकी पिडित आमाको रुपमा देखाइएकी निरुतालाई दर्शकले सहजै चिन्न नसक्नु स्वभाविक हो ।

बालकलाई काखमा लिएर रगताम्मे खाली खुट्टामा चौतारामा बसिरहेको अवस्थामा निरुतालाई प्रस्तुत गरेको चलचित्रको टिजरले सबै कथा वस्तु उजागर गरेको त छैन, यद्यपी विषयवस्तु आमा र छोरासँग केन्द्रित रहेको र सो चरित्रमा निरुताले भरिपुर अभिनय गरेको अनुमान लगाउन सकिन्छ ।

चलचित्र आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

नेपालका दुर्गम पहाड, मौलिक संस्कृति र ग्रामीण जीवनको पृष्ठभूमिमा बनेको चलचित्र सारथी एउटा गहिरो सामाजिक तथा भावनात्मक कथा रहेको निर्माण पक्षले जनाएको छ । आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण मान्छे, आफ्नी आमालाई जोगाउन एक युवकले गरेको संघर्षको कथालाई चलचित्रमा दृयात्मक रुपमा प्रस्तुत गरिएको छ । सारथी मूलतः माया, त्याग, पहिचान, संघर्ष र मानवीय संवेदनाको कथा रहेको निर्माण पक्षको भनाई छ ।

धीरज इन्फिनिटी फिल्म्ससँगको सहकार्यमा किम्भे प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रलाई कुमार गजुरेलले निर्देशन गरेका हुन् । चलचित्रमा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्माको अभिनय रहेको छ ।

नेपाली फिल्म क्षेत्रका अनुभवी सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ताको भूमिकामा रहेको चलचित्रलाई उनी आफैंले सम्पादन गरेका छन् । निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् भने बेक बहादुर कुमाई र नबीन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका सह निर्माताहरुमा अविनाश राइ, द्वारिका श्रेष्ठ र ओमिशान थापा छन् ।

लाइन प्रोड्युसर आमिर केसी रहेको चलचित्रमा बबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ । चलचित्रको कथा समेत निर्देशक राजु गजुरेलको नै रहेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  १६ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।