काठमाडौं । नेपालमा दसैँले छोइसक्यो । गाउँघरका आँगन लिपपोत र सहरका घर पेन्टले रंगीन थालिसके ।
बजारमा नयाँ लुगा र खाद्यान्नको किनमेल बढेको छ । परदेशमा रहेका छोराछोरी घर फर्किने खबरले कतिपय परिवारमा खुसी छाएको छ । वर्षभरि सुनसान रहने घरहरूमा चहलपहल सुरु भएको छ ।
तर यो वर्षको दसैँ घर फर्किने खुसी लिएर आउँदैन । कतिपयका लागि यो परिवारसँग भेट हुन नपाएको पीडा सम्झाउने समय बन्छ । घर फर्किने रहर हुँदाहुँदै पनि रोजगारी, आर्थिक अभाव र परिस्थितिको बाध्यताले उनीहरूलाई परदेशमै रोकिराख्छ ।
परदेशमा बसेर मोबाइलको स्क्रिन हेरिरहेका सुमन थापाका लागि पनि दसैँ यस्तै बनेको छ । गाउँमा रहेकी आमाको फोन आउँदा नै आँखाबाट आँशु आउने उनी बताउँछन् ।
‘बाबु, दसैँमा घर आउँछस् नि ?’
आमाको यो प्रश्न उनका लागि नयाँ त होइन । हरेक वर्ष दसैँ नजिकिँदा आमाले यही सोध्छिन् । र, सुमनले पनि उही जवाफ दिन्छन्, ‘आमा, कोसिस गरिरहेको छु ।’
घरको जिम्मेवारीले रोकिएको यात्रा
अछामको एउटा दुर्गम गाउँमा जन्मिएका सुमनले परिवारको आर्थिक अवस्था कमजोर भएपछि पढाइलाई बीचमै छाडेर रोजगारीका लागि परदेशीनु परेको थियो । बुबाको निधनपछि घरको जिम्मेवारी उनको काँधमा आयो । घरमा आमा र बहिनी थिए । उनीहरूको आवश्यकता पूरा गर्नु सुमनको जिम्मेवारी मात्र होइन, जीवनको मुख्य उद्देश्यसमेत बन्यो ।
तर परिवारको जिम्मेवारी पूरा गर्दागर्दै उनी आफैँले परिवारसँग बिताउन पाउने समय भने गुमाउँदै गएका छन्।
गत वर्ष पनि उनी दसैँमा घर जान पाएनन् । काम गर्ने ठाउँमा कर्मचारी अभाव भएपछि बिदा मिलेन। आमाले फोनमा ‘ठीकै छ बाबु, काम गर’ भनिन्। उनले पनि परिस्थितिलाई स्वीकार गरेजस्तो गरे।
तर फोन काटिएपछि लामो समयसम्म उनी चुपचाप बसेका थिए ।
यसपालि भने उनले दसैँमा जसरी पनि घर फर्किने योजना बनाएका थिए ।
घर जाने पैसाले नेपालमा आमाको लागि खर्च र बहिनीको स्कुलको शुल्क तिर्ने योजना बनाएको उनले बताए ।
साँझ पर्दै जाँदा सुमनलाई बाल्यकालको दसैँ सम्झना आयो । बुबा जीवित हुँदा घरमा दसैँको छुट्टै रौनक हुन्थ्यो। पिङ हालिन्थ्यो। साथीभाइसँग टीका लगाउन हिँडिन्थ्यो । आमाले बनाएको मासु र भात खाएर दिनभरि रमाइलो गरिन्थ्यो ।
त्यतिबेला दसैँ सधैँ यस्तै हुन्छ भन्ने लाग्थ्यो। तर समयसँगै परिस्थिति बदलियो। बुबा रहेनन्। घरको जिम्मेवारी बढ्यो। रोजगारीको खोजीमा उनले देश छाड्नुप¥यो। अहिले दसैँमा घर फर्किने कि नफर्किने भन्ने कुरा पनि बिदा, तलब र खर्चको हिसाबमा निर्भर हुन थालेको छ ।
सुमनको यो कथा कुनै एक व्यक्तिको मात्र कथा होइन । यो रोजगारीका लागि आफ्नो जन्मभूमि र परिवार छाड्न बाध्य लाखौँ नेपाली युवाहरूको साझा व्यथा हो ।
अहिले खाडी मुलुक, मलेसिया, कोरिया वा अन्य वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली युवा हुन् वा काठमाडौँका होटल, ग्यारेज, पसल, कारखाना र निर्माण क्षेत्रमा पसिना बगाइरहेका श्रमजीवी— धेरैका लागि दसैँ आउनु र जानुको कुनै भिन्न अर्थ रहँदैन । परिवारको आर्थिक स्थिति सुधार्ने, ऋण तिर्ने र छोराछोरीको भविष्य उज्ज्वल बनाउने सपना बोकेर घर छाडेका उनीहरूका लागि चाडपर्वमा बिदा पाउनु नै एकादेशको कथा जस्तै बन्छ ।
परदेशिएका युवाहरू आफ्ना परिवारको मुहारमा खुसी ल्याउन आफू टाढा बस्छन् । तर, विडम्बना ! त्यही दूरीले उनीहरूलाई परिवारसँग बिताउनुपर्ने जीवनका सबैभन्दा महत्त्वपूर्ण र स्मरणीय क्षणहरूबाट भने वञ्चित गराइदिन्छ ।
आमाले घरको आँगन लिपपोत गरेर छोराको बाटो हेरिरहेकी छन्, बहिनी दाजुले ल्याइदिने नयाँ लुगाको पर्खाइमा छिन् । यता परदेशको साँघुरो कुनामा बसेर सुमन जस्ता हजारौँ परदेशीहरू भने आँसु पिउँदै परिवारको समृद्धिको प्रार्थना गरिरहेका छन् ।
चाडपर्वले गाउँघरलाई छपक्कै छोए पनि यी परदेशीहरूका लागि भने दसैँ केवल क्यालेन्डरको एउटा पाना फेरिनु र मनमा विवशताको अर्को गहिरो छाप थपिनु बाहेक केही बन्न सकेको छैन ।








