चीनतर्फका नाका ठप्प हुँदा दसैँ महँगियो, कपडा किन्नै नसक्ने अवस्थामा उपभोक्ता


काठमाडौँ । चाडपर्वको मुखमा चीनतर्फको नाका ठप्प हुँदा बजारमा हरेक सामान महँगिएको छ । १० भदौमा भोटेकोशी नदीमा आएको बाढीले भन्सार, सडकसहित सबै संरचना ध्वस्त बनाएपछि रसुवागढी नाका बन्द भएको थियो ।

त्यसपछि पहिरोको जोखिम देखाएर सिन्धुपाल्चोकको तातोपानी नाकामा चीनले आयात–निर्यात रोकेको छ ।

यी दुई नाका ठप्प भएपछि विकल्पको रुपमा मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको थियो । काठमाडौँबाट दूरीको हिसाबले नजिक पर्ने दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेका थिए । तर, असोज ९ देखि ११ सम्मको भारी वर्षाले बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेकाले यो नाकाबाट पनि आयात–निर्यात बन्द छ । कोरला नाका हुँदै नेपाल प्रवेश गरेका सयौँ कन्टेनरहरु मुस्ताङमै फसेका छन् ।

विशेषगरी चीनतर्फबाट आयात हुने सामान चाडपर्वका लागि उपयुक्त हुने गर्छ । नेपालमा चीनबाट लत्ताकपडा, जुत्ता चप्पल लगायतका सामानहरु आयात हुने गर्छ । यी सामानहरु आयात सीमित हुँदा मूल्य बढेको हो ।

शान्तिनगर बसोबास गर्दै आएकी प्रमिला खड्का यस वर्ष दशैँको मँहगी अति नै बढेको बताउँछिन् ।

‘दशैँको समयमा सामान्य महँगो त हरेक वर्ष हुने गरेको थियो ।’ उनले भनिन, ‘तर यस वर्ष त अति नै महँगीएको छ ।’
उनका अनुसार, हरेक सामानको भाउ पोहोरको तुलनामा उल्लेख्य बढेको छ । त्यसमा झनै कपडाको मूल्य अधिक बढेको उनको भनाई छ ।

कपडा महँगो भएकै कारण परिवारका सबै सदस्यका लागि कपडा नकिन्ने निर्णय गरेको उनले सुनाइन् ।

प्रमिला मात्र होइन हरेक मानिसहरुको सोही समस्यामा परेका छन् । गौशला बसोबास गर्दै आएकी सबिना पनि यस वर्ष कपडाको मूल्य बढेकाले दसैँका लागि कपडा नै नकिन्ने पुरानै कपडाले काम चलाउने सोचमा रहेको बताइन् ।

‘हरेक वर्ष दसैँमा घर जाँदा परिवारका सबैलाई राम्रो कपडा लैजाने गरेको थिए ।’ उनले भनिन्, ‘तर यस वर्ष त महँगीले किन्नै नसकिने भएको छ, त्यसकारण सामान्य एक÷एक वटा कपडा मात्रै लैजाने सोचेकी छु ।’

नयाँ बानेश्वरमै तीन वर्षदेखि कपडा व्यापार गर्दै आएका विष्णु शाह यस वर्ष कपडा महँगो भएका कारण व्यापार खासै नभएको बताउँछन् । ‘विगतका वर्षको तुलनामा यो वर्ष ग्राहक नै आउँदैनन् ।’ उनले भने, ‘ग्राहक आएपनि भाउ सोध्छन् अनि महँगो भयो भन्दै फर्किन्छन् ।’

उनका अनुसार, होलसेलमै सामानको मूल्य बढेर आएका कारण भाउ बढाउनु परेको छ । सस्तो सामानमा २५ देखि ५० रुपैयाँ र अलि महँगो सामानमा १०० देखि २०० रुपैयाँसम्म त होलसेलमै बढेर आएको उनको भनाई छ ।

त्यस्तै, कुर्ता, साडी व्यापार गर्दै आएकी भगवती थपलिया पनि यस वर्ष व्यापार नै नभएको बताउँछिन् ।

उनका अनुसार, कुर्ता सेट भारतबाट आउँछन् । भारतबाट आउने लुगा यसै पनि महँगो नै हुन्छ । यसपालि बाटोले झन महँगिएको उनको भनाई छ ।

‘बजारमा चिनियाँ सामान अभाव छ र जे जति सामान आएका छन्, तिनको मूल्य अचाक्ली बढेको छ ।’ उनले भनिन्, ‘होलसेलबाटै महँगोमा सामान किन्नुपरेपछि ग्राहकलाई चित्त बुझाउन निकै गाह्रो भएको भएको छ ।’

पहिले १५ सयदेखि १७ सयसम्ममा आउने कुर्ता–सुरुवाल सेट अहिले हामीलाई नै २२ सयदेखि २५ सय रुपैयाँसम्म पर्न थालेको उनले बताइन् ।

चीनतर्फका नाका बन्द हुँदा दसैँ–तिहार र जाडोका कपडा आयातमा असर परेको हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् ।

‘बजारमा आउनुपर्ने सामान आउन नसकेको र त्यसले बजारमा महँगीको अवस्था सिर्जना गरेको छ ।’ उनले भने, ‘पहिला ७५ हजार तिर्ने गाडी भाडा फरकफरक नाका घुमाउँदा–घुमाउँदै ५ लाखसम्म पुगेको अवस्था छ ।’

उनका अनुसार, नियमित ल्याइनेभन्दा फरक नाका प्रयोग गर्नुपरेको, गाडी भाडा र लगानी बढेकाले महँगी बढेको हो । मुख्य सिजनमा नाका अवरुद्ध हुँदा व्यापारीहरु झनै मारमा परेको उनको भनाई छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।