काठमाडौँ । साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा झरेको छ ।
आज ३४८ कम्पनीको सेयर कारोबारमा आउँदा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको छ । आज १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।
शुक्रबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको २ करोड २८ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज बेनी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य ७ प्रतिशत बढेको छ। यता, मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य भने ४.०८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने घलेम्दी हाइड्रोको करिब २८ करोड रुपैयाँकोसेयर कारोबार भएको छ।






