बेनी दरवाङ सडक सञ्चालन


म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी(दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका ४ र मङ्गला गाउँपालिका २ को सिमानामा रहेको फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा यातायात सञ्चालन बन्द भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालन हुन थालेका हुन् । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेले तत्काललाई मर्मत गरे पनि निरन्तर पहिरो खस्ने भएकाले जुनसुकै समयमा आवागमन अवरुद्ध हुने जोखिम रहेको बताए ।

बेनी दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । फापरखेतमा विसं २०५८ मा सडकको मार्ग खोल्नुअघि देखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । पछिल्लो पटक यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।