मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो


बाँके । मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ ।

बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्ने क्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी उक्त नाम हटाइएको हो ।

“मृत्यु भएको भनेर स्थानीय तहले प्रमाणित गरेर पठाएपछि मृत्यु भएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नामावली फेला परेका मतदाताको नाम हटाइएको छ”, प्रमुख शाहीले भने। मतदाता नामावली अद्यावधिक गर्दा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्रै ८२० जनाको नाम हटाइएको छ ।

त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६ जना, राप्तीसोनारी ३७१, डुडुवा, १७७, खजुरा ३२०, बैजनाथ २८९, जानकी १८६ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्म अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कूल १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका थिए । यसमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।