नेपालको कुल ऋण १० खर्ब ४१ अर्ब, एक वर्षमा थपियो ८१ अर्ब वैदेशिक ऋण

0
Shares

नेपाल सरकारले संघीयता कार्यान्वयनदेखि पूर्वाधार विकाससम्मका कामहरूलाई अघि बढाउन बहुपक्षीय र द्विपक्षीय दातामार्फत आर्थिक वर्ष २०७५/७६ मा ८१ अर्ब ४७ करोड वैदेशिक ऋण लिएको छ ।

गत आवमा नेपालले लिएको कुल वैदेशिक ऋणमध्ये सबैभन्दा बढी बहुपक्षीय दाताबाट लिएको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले बहुपक्षीय दाताबाट. ६७ अर्ब ९ करोड ऋण लियो भने द्विपक्षीय दाताबाट १४ अर्ब ३८ करोड प्राप्त भयो ।

नेपालले विश्व बैंक समूह, एशियाली विकास बैंक, यूरोपेली संघ लगायत बहुपक्षीय दाता र भारत, चीन, जापान लगायत द्विपक्षीय दातामार्फत ऋण लिँदै आएकोे छ ।

गत आवमा नेपालले सबैभन्दा बढी विश्व बैंकबाट ४४ अर्ब ८५ करोड ऋण लिएको छ । त्यस्तै, एशियाली विकास बैंकबाट २१ अर्ब २९ करोड र जापान सरकारबाट ५ अर्ब ९२ करोड ऋण लिएको तथ्यांकले देखाउँछ ।

महालेखा नियन्त्रकका अनुसार गत आर्थिक वर्षसम्ममा मुलुकको कुल ऋण १० खर्ब ४१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बाह्य तथा आन्तरिक ऋण दुवै बढ्दा मुलुकको कुल ऋण गत आवमा १३ दशमलव ६५ प्रतिशतले बढेको छ ।

नेपालको कुल ऋणमध्ये अन्तरराष्ट्रिय समुदायसँग लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड छ । त्यस्तै, आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब पुगेको छ । महालेखाको तथ्यांक अनुसार एकै वर्ष नेपालको कुल ऋण १ खर्ब २५ अर्बले बढेको छ ।