घोराही । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि असोजसम्म रु ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४१ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ ।
नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो । कार्यालयका अनुसार साउनमा १३ लाख रुपैयाँको लक्ष्य राखिएकोमा ११ लाख रुपैयाँ, भदौमा १४ लाख ८९ हजार रुपैयाँको लक्ष्य रहेकामा ८ लाख ४० हजार रुपैयाँ र असोजमा १६ लाख रुपैयाँको लक्ष्य रहेकोमा ८ लाख ५१ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो ।
कार्यालयले असोज मसान्तसम्म मुद्दा लिलामीबाट १३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी रहेको उनले बताए। उनले भने, “सामान ल्याउने थोरै मात्रै छन् । नजिकैका नागरिकले मात्र सामान ल्याउँछन् । व्यापारीले यहाँबाट सामान ल्याउँदैनन् ।”
कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक ६०० रुपैयाँ र मोटरसाइकलबाट २०० रुपैयाँ राजस्व लिने गरिएको छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुमफिर र पूजापाठका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व उठ्ने गरेको छ ।
प्रमुख विष्टले भने, “यहाँ उठ्ने राजस्व भनेकै सवारीसाधनबाट उठ्ने कर हो ।” दाङ, रोल्पा र प्युठान क्षेत्रबाट दूरीका हिसाबले छोटो भए पनि व्यावसायिक कारोबारका लागि नाकाको आकर्षण बढ्न नसकेको पाइएको छ ।
पछिल्लो समय सडक सञ्जालमा सुधार हुँदै गए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।
नेपाल भारत सीमा क्षेत्रमा आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको सङ्ख्या न्यून र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ ।







