चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम


अमेरिकी उन्नत कम्प्युटिङ चिप र सर्भरमा तेस्रो मुलुकका डाटा सेन्टरमार्फत चीनले पहुँच प्राप्त गर्न सक्ने सम्भावना रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ निर्यात नियन्त्रण नियम लागू गरेको छ । यसअनुसार चीनलगायत प्रतिबन्धित देशका कम्पनीलाई सेवा दिने विदेशी डाटा सेन्टरले अन्तिम प्रयोगकर्ताको पहिचान खुलाउनुपर्नेछ ।

नयाँ नियमले इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र ब्राजिलमा चिप बिक्री गर्दा थप इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । अमेरिकी प्रशासनले क्लाउड कम्प्युटिङमार्फत अमेरिकी प्रविधि प्रयोग गर्ने सम्भावित कमजोरी नियन्त्रण गर्न यो कदम चालेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकी कदमको आलोचना गर्दै यसले चीनको प्राविधिक विकास र विश्वव्यापी आपूर्ति शृङ्खलामा असर पार्ने बताएका छन् । चीनले आफ्नो हित र अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने उनले जनाए ।

यसैबीच, अमेरिकी चिप निर्माता एनभिडियाका चिप चीन पु¥याएको आशङ्कामा मेगास्पिड इन्टरनेसनलमाथि अमेरिका, सिङ्गापुर र मलेसियामा अनुसन्धान भइरहेको छ । अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२४ मै अनुसन्धान सुरु गरेको थियो भने न्याय मन्त्रालयले कम्पनीमाथिको आपराधिक अनुसन्धान अघि बढाएको छ । मलेसियाले पनि आफ्नो देशमा भित्रिएका चिप अन्य मुलुकमा पुनः निर्यात भए–नभएको छानबिन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।