नेपाली प्रविधि कम्पनीलाई बजार र लगानीकर्तासँग जोड्न नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने


काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ ‘पावरिङ नेपाल्स नेक्ष्ट इकोनोमि’ भन्ने नारासहित आयोजना हुन लागेको यस वर्षको एक्स्पोमा स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत छलफल थप गरिएका छन् ।

एक्स्पोले नेपाली प्रविधि कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ । साथै, विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास(आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रसँग देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ठूलो सम्भावना रहेको बताए ।

‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन् । अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ । नास–आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,’ उनले भने ।

यस्तै नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन् ।

‘खरिदकर्ता, स्टार्टअप र विद्यार्थी सबैले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो । एक्स्पोमार्फत प्रविधि कम्पनीका उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै नयाँ सहकार्य र व्यावसायिक सम्भावनाको खोजी गर्न सकिनेछ,’ उनले भनिन् ।

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, एआई तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी ६ क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् ।

स्टार्टअप प्याभिलियन र दुई विषयगत छलफल

यस वर्ष युरोपेली संघको सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन थप गरिएको छ । यसले स्टार्टअपहरूलाई आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

एक्स्पोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल आयोजना हुनेछ । दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विदिन’ शीर्षकमा दुईवटा प्यानल छलफल आयोजना हुनेछन् ।

‘सेलेक्ट यूएसए’ सत्रमा नेपाली व्यवसायहरूका लागि अमेरिकी बजारमा उपलब्ध अवसरहरूबारे छलफल गरिनेछ भने ‘बिल्डिङ फ्रम विदिन’ सत्रमा नेपालको आन्तरिक प्रविधि बजारको विकासका विषयमा छलफल हुनेछ । साथै, दुवै दिन सञ्चालन हुने पिच सत्रमार्फत प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा तथा समाधानहरू प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

नोभेम्बर २०२५ मा आयोजित पहिलो नास(आईटी एक्स्पोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए । पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा छ ।

एक्स्पोकी संयोजक तथा नास–आईटीकी कार्यसमिति सदस्य प्रार्थना साखस्ले एक्स्पो सफल बनाउन प्रायोजक, साझेदार तथा प्रदर्शकको सहकार्य महत्त्वपूर्ण रहेको बताइन् ।
यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ । सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एआई ए प्रिक्सा कम्पनी रहेका छन् । डिशहोम इन्टरनेट साझेदारका रूपमा जोडिएको छ भने किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा रहेका छन् ।

नास–आईटी नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको गैरनाफामूलक संस्था हो । नेपाली प्रविधि उद्योगको विकास र अन्तर्राष्ट्रिय विस्तारमा योगदान पुर्‍याउँदै नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने संस्थाको लक्ष्य छ ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  १५ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।