गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान


गण्डकी । गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्का कारण क्षति पुगेका सडक, पुल, भवलगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा ८ अर्ब ३७ करोडभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति नसमेटिएको गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्राररम्भिक आकलन अनुसार पुनःनिर्माणमा ८ अर्ब ३७ करोडभन्दा बढी लाग्ने देखिएपनि विपद्पछिको आवश्यकता मुल्याङ्कनको थप विस्तृत र पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताए। बाढीपहिरो, डुबानजस्ता मनसुनजन्य विपद्का घटनाबाट यस वर्ष प्रदेशका सात जिल्लाका २० स्थानीय तह प्रभावित भएको उनले बताए। 

बाढीपहिरोबाट ११ सडक पुल, १५ वटा झोलुङ्गे पुल, १९ विद्यालय भवन, ११ वटा सरकारी भवन र २६ किमि सडकमा क्षति पुगेको उनले जानकारी दिए। “सडक, पुललगायत सार्वजनिक संरचना पुनःनिर्माणमा लाग्ने खर्चको प्राररम्भिक अनुमान मात्र गरिएको छ”, उनले भने,  “अन्य क्षेत्रमासमेत पुगेको क्षतिको पुनःनिर्माण र बाढीबाट विस्थापित घरपरिवारको पुनःस्थापनाका लागि राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने देखिएको छ ।”

गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि निम्तिएको बाढीपहिरोका घटनाले गण्डकी प्रदेशको बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । त्यस्तै असोज २५ गते बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न स्थानीय तहलाई प्रभावित पारेको थियो । सोही महिनामा मनाङको हिमलुङ हिमाल आधारशिविरमा हिमपहिरो जाँदा १६ जनाको मृत्यु भएको थियो । गत भदौमा मुस्ताङको लोमान्थाङमा गएको भूकम्पले त्यहाँका २७३ घर तथा संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।