बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन


बाजुरा । हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ । जिल्लामा स्याउखेती विस्तार हुन थालेपछि उत्पादन क्षेत्रफलसँगै फल दिने बोटको सङ्ख्या र उत्पादन परिमाणसमेत बढ्दै गएको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ३३७ मेट्रिकटन अर्थात् ३ हजार ३७० क्विन्टल स्याउ फलेको कार्यालयका सूचना अधिकारी प्रेमराज न्यौपानेले जानकारी दिए। उनका अनुसार क्षेत्रफल विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको हो । 

“यहाँ मुख्य गरी चार स्थानीय तहमा स्याउ खेती गरिन्छ”, न्यौपानेले भने, “यस वर्ष सबैभन्दा बढी स्वामीकार्तिक खापर १२५, जगन्नाथ ९७, हिमाली गाउँपलिकामा ३७ र बुढीनन्दा नगरपालिकामा ७८ गरी कुल ३३७ मेट्रिकटन स्याउ फलेको हो ।” उनले कुल उत्पादनमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको जानकारी दिए।

जिल्लाभित्र र बाहिर गरी १ करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको केन्द्रका सूचना अधिकारी न्यौपानेले जानकारी दिए। जिल्लामा गत वर्ष १ करोड ५० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो । जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएकोमा २१० हेक्टरमा मात्रै उत्पादन भइरहेको छ भने ४ पालिकासहित खप्तड छेडेदह, गौमुललागयतका क्षेत्रमा पनि स्याउखेती विस्तार भइरहेको कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले गत वर्षको तुलनामा क्षेत्रफल विस्तार भएसँगै उत्पादन बढे पनि अपेक्षाअनुसार बिक्री  हुन नसकेको बताए। 

“वर्षातमा अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म ढिलो गरी सञ्चालन हुँदा बजारीकरणका लागि ढुवानीमा समस्या भयो”, प्रमुख विष्टले भने, “दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै सदरमुकाम मार्तडी र धनगढी, नेपालगञ्जसम्म यहाँको स्याउ बिक्री भएको हो ।” यस्तै हरेक वर्ष स्याउ ढुवानीका लागि कार्यालयबाट अनुदान दिने गरेको भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको बजेट नआउँदा किसानले आफैँ ढुवानी गरेर बिक्री गर्नु पर्ने अवस्था भएकाले पनि समस्या भएको उनले बताए।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १५ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।