काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा आएको उल्लेख्य गिरावटसँगै स्थानीय बजारमा सुन किन्ने ग्राहकको चहलपहल बढ्न थालेको छ । लामो समयसम्म निरन्तर बढेको सुनको मूल्यका कारण खरिद गर्नबाट पछि हटेका उपभोक्ता मूल्य घट्न थालेपछि पुनः खरिद गर्न थालेका हुन् ।
मूल्य घटेको मौका छोपेर सुनका गरगहना खरिद गर्ने ग्राहकको संख्या बढेसँगै बजारमा सुनको मागसमेत बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत परेको छ ।
सुनको मूल्यमा आएको यो गिरावटले उपभोक्ताका लागि खरिद गर्ने अवसर बनेको छ । मूल्यमा आएको गिरावटले विशेषगरी विवाह, व्रतबन्ध तथा अन्य पारिवारिक समारोहका लागि सुन खरिद गर्ने तयारीमा रहेका उपभोक्तालाई आकर्षित गरेको छ । यसै पनि अन्य समयको तुलनामा बिबाहको सिजनमा सुनको माग बढ्ने गर्छ । त्यसमा झनै उच्च वृद्धि भएको सुनको मूल्य आएको गिरावटले ग्राहकलाई राहत थपेको छ ।
पछिल्लो समय सुनमा आएको गिरावटले बजारमा सुनका गहना बनाउनेहरु बढेको सुन व्यवसायी राजकुमार बराइली बताउँछन् । ‘अत्याधिक महँगिएर सुन खरिद नगरेकाहरु अहिले आउने गरेका छन् ।’ उनले भने, ‘त्यस्तै, एक तोलामा मात्र बनाउँछु भन्नेहरु बढी तौलका गहना अर्डर गर्न थालेका छन् ।’
अत्याधिक महाँगिएपछि केही मात्रामा मात्र सुन ल्याउने गरेकाले अहिलेका लागि माग धान्न असहज हुने देखिएको उनको तर्क छ । माग अनुसार मात्रै आयात गर्ने गरिएको थियो, तर अहिले माग बढेको उनले बताए । सुनमा देखिएको यो गिरावटको तुलनामा अझै सुन किन्नेहरु कम भएको उनको भनाई छ ।
उनका अनुसार, सुनको मूल्यमा निरन्तर गिरावट आउने वा फेरि बढ्ने भन्ने अनिश्चितताले पनि बजारको कारोबारलाई प्रभावित गरेको छ । मूल्य अझै घट्ने अपेक्षामा केही उपभोक्ता खरिदका लागि पर्खिरहेका छन् भने मूल्य घटेको मौकामा तत्कालै सुन किन्न चाहनेहरु पनि भएको उनको भनाई छ ।
त्यस्तै, अर्का व्यापारी मनोज सुनार पनि सुनमा आएको उच्च गिरावटले गहना बनाउनेहरु बढेको बताउँछन् । ‘अन्य समयको तुलनामा विवाहको सिजनमा माग केही बढ्ने गर्थ्यो ।’ उनले भने, ‘यो वर्ष भने अत्याधिक बढेको सुनको मूल्यमा उच्च गिरावट आएपछि विवाहका लागि सुन बनाउनेहरुले पनि धेरै तौलको गहना बनाएका छन् ।’
उनका अनुसार, सुनको मूल्य घट्दा उपभोक्ताले एकैपटक धेरै सुन खरिद नगरे पनि पहिलेभन्दा बढी परिमाणमा खरिद गर्न थालेका छन् । विशेषगरी दैनिक ज्यालादारी तथा मध्यम आय भएका परिवारले लामो समयदेखि रोकिराखेको सुन खरिद गर्ने योजना कार्यान्वयन गर्न थालेका छन् । मूल्य घटेको समयमा भविष्यका लागि सुन सञ्चय गर्ने सोच राख्ने ग्राहकसमेत बजारमा देखिन थालेको उनको भनाई छ ।
अहिले बजारमा दैनिक करिब ३५-४० किलो बराबरको सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।
‘मान्यतया सुन बजारको अफसिजनमा दैनिक ४÷५ किलो मात्रै कारोबार भइरहेको थियो तर अहिले मूल्य घटेपछि माग बढेको छ ।’ उनले भने, ‘अहिले भने मूल्य घट्नु र बिहेको सिजन सुरू हुनु दुवै कारणले कारोबार ह्वात्तै बढेको हो ।’ ३-४ वर्षअघि सुनको मूल्य अहिलेको स्तरमा नहुँदा मुख्य सिजनमा जति कारोबार हुन्थ्यो, अहिले त्यही हाराहारीमा पुगेको उनको भनाई छ ।
उनका अनुसार, विवाहका लागि धेरै परिणामको सुन किन्नुपर्ने परिवारलाई मूल्यमा आएको यो गिरावटले ठूलो राहत दिएको छ । पहिले छुट्ट्याएको बजेटमै बढी परिमाणमा सुन किन्न सकिने अवस्था बनेको छ ।
२-४ हजारको फरक पर्दा पनि धेरै परिणामको सुन किन्ने ग्राहकको कुल खर्चमा ठूलो अन्तर पर्छ । अहिलेको मूल्य घटाइले ग्राहकको खरिद क्षमतामै फरक पारेको उनको तर्क छ ।
विशेषगरी अहिजे बजारमा विवाह वा अन्य पारिवारिक आवश्यकताका लागि सुन किन्ने र मूल्य घटेको मौका छोपेर भविष्यका लागि सुन किनेर राख्ने ग्राहकहरु बढेको उनले बताए ।हाल बैंक मार्फत हुने दैनिक आपूर्ति २५ किलो मात्रै छ । हाल बजारमा भइरहेको कारोबार र नयाँ आपूर्तिबीच दैनिक करिब १५ किलोको अन्तर छ ।
हाल भने पहिलेबाट रहेको मौज्दातबाट पूर्ति भइरहेको महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बताए । तर पुरानो सुन बिक्री भएर बजारमा नफर्किएकाले नयाँ सुनको माग र आपूर्तिबीचको अन्तरले सुन अभाव हुने संकेत रहेको उनको भनाई छ ।
उनका अनुसार, माग बढी छ, आपूर्ति भने त्यही अनुसार बढेको छैन । बजारमा भएको पुरानो स्टकबाट सुन बिक्री भइरहेको छ, मौज्दात घट्दै गएपछि फेरि थप्न पनि समस्या हुन सक्छ । त्यसैले ग्राहकका लागि अहिलेको मूल्य गिरावट अवसर भए पनि व्यवसायीका लागि मौज्दात व्यवस्थापन चुनौती बनेको उनको भनाई छ ।
बजार सन्तुलन मिलाउन बैंकमार्फत हुने सुनको आयात तथा आपूर्तिको परिमाण केही समयका लागि बढाउन सकिने उनको सुझाव छ । सुनको मूल्यमा आएको गिरावटको प्रमुख कारण ब्याजदर र अमेरिकी डलरको मजबुती रहेको विश्लेषण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सन् २०२५ देखि २०२६ को सुरुवातसम्म सुनको मूल्य निरन्तर बढ्नुमा विश्वव्यापी आर्थिक तथा राजनीतिक अनिश्चितता प्रमुख कारण बनेको थियो ।
गत फेब्रअरीमा प्रतिऔँस ५ हजार ५५६ अमेरिकी डलरभन्दा माथिको ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ प्रतिऔँस ३ हजार ५२४ अमेरिकी डलरमा झरेको छ ।
सुनको मूल्यमा आएको गिरावट अझै रोकिने संकेत नदेखिएपछि विश्लेषकहरूले मूल्य थप घट्न सक्ने प्रक्षेपण गरेका छन् । विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार अमेरिकी डलरसम्म झर्न सक्ने सम्भावना छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि सामान्यतया घट्छ । तर दुवै बजारमा मूल्य समान अनुपातले घट्दैन । नेपालमा सुनको भाउ निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर, आयातमा लाग्ने कर र अन्य लागत पनि जोडिन्छ ।







