काठमाडौँ । पछिल्लो समय मुलुक डिजिटल कारोबारतर्फ अगाडी बढिरहेको छ । सरकारले नगदरहित कारोबारलाई प्राथमिकतामा राख्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार र प्रवद्र्धनमा जोड दिइरहेको छ ।
बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल बैंकिङ, क्यूआर कोड, वालेटलगायतका डिजिटल भुक्तानीका माध्यमलाई विस्तार गरिरहेका छन् । तर, डिजिटल भुक्तानी प्रणालीमा देखिने प्राविधिक समस्याका कारण यसको विश्वसनीयता घट्न थालेको छ ।
विशेषगरी बैंकहरूको मोबाइल एप, इन्टरनेट बैंकिङ लगायतका विभिन्न डिजिटल भुक्तानी प्लेटफर्ममा समस्या आउँदा सर्वसाधारणदेखि व्यापारीसम्म प्रभावित हुने गरेका छन् । भुक्तानी गर्ने समयमा एप नचल्ने, रकम ट्रान्सफर हुन ढिलाइ हुने, कारोबार सफल भएको वा नभएको स्पष्ट जानकारी नआउने तथा रकम खाताबाट काटिए पनि प्राप्तकर्ताको खातामा जम्मा हुन समय लाग्ने जस्ता समस्याले डिजिटल कारोबारप्रति प्रयोगकर्ताको विश्वास कमजोर बनाउँदै लगेको छ ।
पछिल्लो समय डिजिटल कारोबारले झनै व्यापारीहरुलाई समस्यामा पारेको बानेश्वर स्थित भगवती किराना स्टोरका सञ्चालक किशोर श्रेष्ठ बताउँछन् । ‘ग्राहकहरुले नगद बोक्दैनन्, क्यूआर चल्दैन, यसरी क्यूआर नचल्दा ग्राहकले सामान नै नलिई जान्छन्, त्यसो हुँदा व्यापारमा धक्का पुगेको छ’ उनले भने, ‘ग्राहक सामान लिन्छन् तर कहिले ग्राहकको क्यूआर चल्दैन त कहिले मेरो ।’
उनका अनुसार, कहिले ग्राहकबाट पैसा काटेको देखाउने र आफ्नो खातामा नआउने समस्या हुन्छ । आफ्नो खातामा पैसा नआएपनि आउँछ होला भनेर सामान दियो, रकम आउँदैन, ग्राहककै खातामा फिर्ता हुने रहेछ । कुनै ग्राहकलाई त फोन गरेपछि बुझेर पुन रकम दिन्छन् कुनैले त फोन नै नठाउने उनको गुनासो छ ।
दिनभरि धेरै ग्राहकसँग कारोबार गर्नुपर्ने भएकाले प्रत्येक ग्राहकको भुक्तानीका लागि मोबाइल एप खुल्ने प्रतीक्षा गर्नु व्यावहारिक हुँदैन ।
विशेषगरी ग्राहकको चाप बढी हुने किराना पसल, रेस्टुरेन्ट तथा खुद्रा व्यापारमा डिजिटल भुक्तानी प्रणालीमा आउने सामान्य अवरोधले समेत कारोबार प्रभावित पार्ने गरेको उनी बताउँछन् ।
क्यूआरमार्फत भुक्तानी गर्दा रकम प्राप्त भए–नभएको यकिन गर्न आफ्नो मोबाइलमा बैंकको एप वा एसएमएस जाँच गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ ग्राहकले रकम पठाएको देखाए पनि व्यापारीको खातामा रकम जम्मा नभएको हुन सक्छ । यस्तो अवस्थामा भुक्तानीको पुष्टि नहुँदासम्म सामान उपलब्ध गराउन समस्या पर्ने गरेको उनको भनाई छ ।
त्यस्तै डिजिटल कारोबारले सर्वसाधारणलाई पनि दिक्क बनाएको छ । पसलमा क्यूआर भईहाल्छ भनेर सामान किन्यो रकम तिर्ने समयमा क्यूआरमा नै समस्या आइदिन्छ । अनि सामान नै नलिई घर फर्किनुपर्ने बाध्यता भईदिन्छ ।
शान्तिनगर बसोबार गर्दै आएकी प्रमिला सधैजसो सामान किन्न बजार जान्छिन् । उनीसँग नगद हुँदैन, तर खर्च गर्नका लागि बैंकमा पैसा हुन्छ । बैंकमा पैसा भएकै भरमा उनले आफूलाई चाहिने सम्पूर्ण सामान लिन्छिन् र पसलेलाई पैसा तिर्न क्यूआर माग्छिन् । तर, त्यत्ति नै बेला उनको मोबाइल बैंकिङ एपमा नै प्रविधिक समस्या आइदिन्छ र उनी सामान त्यही छाडेर घर फर्किन बाध्य हुन्छिन् ।
त्यस्तै, अर्का व्यक्ति विकास पौडेल पनि आफू त्यही समस्यामा परेर आजकल नगद नै बोकेर हिड्न थालेको बताउँछन् । ‘पसलमा सामान लिए तर क्यूहारबाट रकम तिर्दा इरर देखायो, पसलेको खातामा पनि पैसा गएन र आफ्नो खाताबाट पनि काटेन अनि सामान छाडेर आएँ ।’ उनले भने, ‘तर घर आएको १÷२ घण्टामा त पैसा काटियो, फेरी त्यही पैसा लिनका लागि पसल धाउनुपर्यो ।’
उनका अनुसार, डिजिटल कारोबारले केही सहजता भएता पनि प्राविधिक समस्या बढी हुँदा प्रभावकारी हुन सकेको छैन । यस्ता कारोबारलाई दीर्घकालसम्म टिकाउनका लागि समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ ।
पछिल्लो समय डिजिटल भुक्तानीमा देखिएको प्राविधिक समस्या बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन निर्देशन जारी गरेको बैंकका एक अधिकारीले बताए ।
उनका अनुसार, निर्देशनले सूचना प्रविधिको सुरक्षा, साइबर जोखिम व्यवस्थापन, प्राविधिक अवरोधको पहिचानलाई प्राथमिकता दिएको छ । साथै, प्राविधिक समस्या तथा जोखिम न्यूनीकरणका लागि नियमित प्रणाली परीक्षण, सूचना प्रविधि अडिट र आकस्मिक अवस्थामा सेवा सञ्चालन गर्न सक्ने वैकल्पिक व्यवस्था गर्न पनि जोड दिइएको उनको भनाई छ ।
त्यस्तै, डिजिटल कारोबारको प्रयोग विस्तार हुँदै जाँदा अनलाइन माध्यमबाट हुने वित्तीय ठगीका घटना पनि चुनौतीका रूपमा देखिन थालेका छन् । साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरी बढ्न थालेको छ । गुनासो र उजुरीका लागि २४ सै घण्टा सञ्चालन हुने हटलाइन नम्बर १२४७ सार्वजनिक गर्दै राष्ट्र बैंकले ठगीमा परेका व्यक्तिलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ ।
डिजिटल वित्तीय कारोबारमा हुने ठगीका घटनालाई समयमै सम्बन्धित निकायसम्म पु¥याउन र आवश्यक प्रतिकार्यका लागि समन्वय गर्न यस्तो व्यवस्था गरिएको हो ।









