गरिमा विकास बैंकले सार्वजनिक गर्यो प्रगतिउन्मुख वित्तीय विवरण

0
Shares

गरिमा विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांस सूचकमा सुधारसहितको प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले निक्षेप र कर्जा विस्तारबाट ब्याज आम्दानी बढाउँदा पूँजी वृद्धिको बाबजुत पनि नाफा बढाएर प्रतिशेयर आम्दानीमा सुधार गरेको छ।

गत असारमसान्तसम्म बैंकले ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३३ प्रतिशत बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ छ । यसको आधारमा बैंकले गतवर्षको कमाईबाट १६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाखबाट १० प्रतिशतले बढेर दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । यस्तै प्रतिशेयर आम्दानी पनि १८ रुपैयाँ ५० पैसाबाट २१ रुपैयाँ २४ पैसामा बढोत्तरी भएको छ । बैंकको जगेडा कोषको आकार ९८ करोड ८८ लाख छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह क्रमश ३५.७७ र ५१.२८ प्रतिशतले बढाएको छ । बैंकले २६ अर्ब ७८ करोड निक्षेप संकलन गरेर २८ अर्ब २० करोड कर्जा परिचालन गरेको छ । जसबाट बैंकले एक अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकमा निष्कृय कर्जा अनुपात ०.२७ बाट घटेर ०.०२ प्रतिशतमा सीमित बनेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४६ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात १०.५५ गुणा बढी छ । बैंकको आधार ब्याजदर तथा लागत घटेको छ ।