एनएमबी बैंकले पारित गर्यो ओमसँगको मर्जर प्रस्ताव, ब्रोकरेज सेवा आरम्भ गर्ने

0
Shares

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्ने प्रस्ताव पारित गरेको छ ।

साउन २८ गते मंगलबार सम्पन्न बैंकको विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग १००:७६ स्वाप रेशियामा मर्जरमा जान स्वीकृती प्रदान गरेको छ ।

एनएमबि र ओमको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००:७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ। ओमका शेयरधनीहरुले १०० कित्ता बराबर एनएमबिको ७६ कित्ता शेयर प्राप्त गर्नेछन्।

साथै साधारणसभाले नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर कारोबारका लागि ब्रोकरेज सेवा प्रदान गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गरेको छ।

एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने निर्णय गरेको छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ। मर्जरपछि एनएमबि बैंकको चुक्ता पूँजी साढे ११ अर्ब कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई .२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब पुग्नेछ।

यता, ओमले पनि सोमबार विशेष साधारण सभा गरेर मर्ज प्रस्ताव अनुमोदन गरिसकेको छ । एनएमबि र ओमले जेठ २ गते नै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।