शेयर बजारमा बाघ करायो, बाख्रा पनि हरायो, अब के गर्ने ? – तिलक कोइराला


नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयरमा बढी चलखेल भएको भन्दै सूची सार्वजनिक गरेको बहानामा फेरि अर्को खेल भएको छ ।

बोर्डले लगानीकर्तालाई सुरक्षित लगानीका लागि सचेत गराउँँदै सर्बसाधारण लगानीकर्ताहरु खराब र कमजोर कम्पनीको शेयरमा नफसुन भनेर बिज्ञप्ति जारीको गरेको बहानामा नयाँ र साना लगानीकर्ता तर्साउने खेल खेलिएको हो । यद्यपी धितोपत्र बोर्डले कम्पनीको नामै तोेकेर सूची सार्वजनिक गर्नु गल्ती थियो र त्यसले खेल खेल्नेहरुलाई झन् सजिलो बनाईदियो । बाघ कराउनु र बाख्रा हराउनुको संयोग अहिले नेपालको शेयर बजारमा परेको छ ।

केही लगानीकर्ताहरु हकप्रद बिक्री र वित्तीय आँकलनको हल्लाको बहानामा मूल्य टुप्पोमा पुगेका खराब कम्पनीहरुमा नचाहिदो ढंंगले उचालिएकै थिए र उनीहरुले अहिलेको नियति भोग्नु अनिबार्य नै थियो ।

तर धितोपत्र बोर्डले ५१ कम्पनीको सूची सार्बजनिक गर्यो भन्दैमा एक बर्षदेखि मूल्य खासै नबढेका र राम्रा कम्पनीको शेयर मूल्य पनि नराम्रोसँग घट्नुपर्ने कारण थिएन ।

संयोग कस्तो पर्यो भने केही खेलाडीहरुले केही कम्पनीको शेयर मूल्य उचालेर टुप्पोमा पुर्याई नाफा सुरक्षित गरेर आफु बाहिर निस्किसकेका थिए । त्यही बेला धितोपत्र बोर्डको बिज्ञप्ति आईदियो । अहिले शेयरको मूल्य झार्न चाहनेहरुलाई धितोपत्र बोर्डको बिज्ञप्ति मुख्य अस्त्र बनेको छ ।

खेलाडीहरुले चलखेल गर्दासम्म चुप लागेर बस्ने अनि जब खेलाडीहरु निस्कन्छन् त्यस पछि बिज्ञप्ति जारी गरेर टुप्पोमा खराब कम्पनीको शेयर किनेर फसेका नयाँ तथा साना लगानीकर्ताहरुलाई अत्याउने किसिमको भुमिका धितोपत्र बोर्ड र नेप्सेको हुनु आम लगानीकर्ताका लागि दुुखद नै हो ।

शेयरबजारमा देखिने जोखिम कम गर्न यी निकायले बक्तब्य जारी गर्नुको बदला नीति, नियम, प्रविधि र पुर्वाधारको काम गरेको भए अहिले जसरी आलोचित हुनुपर्ने थिएन ।

अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेले शेयरको मूल्य र नेप्से सूचक नाप्ने हैन, पूँजी बजारमा चाहिने नीति, नियम, पुर्वाधार र प्रविधिको बन्दोबस्ती गरी बजारलाई आफ्नो नियममा चल्न दिने हो । नीति, नियम, पुर्वाधार र प्रविधिको सही बन्दोबस्ती भए बजारले आफ्नो बाटो आफैँ समात्छ र बजार पूर्ण स्वःचालित हुन्छ, नचाहिँदो खेल खेल्ने खेलाडीहरु आफैँ पाखा लाग्छन् ।

कुन कम्पनीको शेयर किन वा नकिन भनेर कम्पनी तोक्ने काम यी निकाय कसैको पनि गर्ने हैन कि लगानीकर्ताको छनौटको अधिकार हो । तर गर्छु भनेका महत्वपूर्ण काम बर्षौसम्म पनि नगर्ने, काम गर्न विभिन्न बहानाबाजी गर्ने र पूँजी बजारलाई प्रविधिमैत्री र सुरक्षित बनाउने काम तत्काल होस भनेर अनशन बस्नेहरुलाई हैरान पार्ने नियमनकारी निकायहरु शेयर बजारलाई प्रभावित पार्ने बक्तब्यबाजी गर्न चाँही किन तछाड मछाड गर्छन ? रहस्य यहीँ छ ।

धमिलो पानीमा धितोपत्र बोर्डका कुनै पदाधिकारीलाई पैसामा बिकेर काम गरेको आक्षेप लाग्नु झन् रहस्यमय छ ।

असल नियतले काम गर्दागर्दै पनि यस्तो आक्षेप कसैले लगाएको छ भने त्यस्तालाई कारबाही गर्नुपर्छ र असल काम गर्नेहरुलाई समर्थन र सहयोग गर्नुपर्छ । धितोपत्र बोर्डले अहिले आफुले गर्नुपर्ने काम फटाफट गरी गलत आक्षेप लगाउनेहरुलाई प्रतिउत्तर दिनैपर्ने बेला आएको छ । धितोपत्र बोर्डका पदाधिकारीसँग छ यो हिम्मत ?

अहिले शेयरको मूल्य घट्यो भनेर हामी लगानीकर्ताले पनि रोईकराई गर्नुको कुनै अर्थ छैन । शेयर बजारमा शेयरको मूल्य बढ्छ र घट्छ । यो सामान्य कुरा हो । नीति, नियम, पुर्वाधार र प्रविधिको सही बन्दोबस्ती गरी कडा नियमन हुने हो भने यस्ता कुराहरुमा हामीले पनि चिन्ता गर्नु बेकार छ । हामीले अनशन बसेर दबाब दिएका २० बटा महत्वपूर्ण कामहरु मध्ये अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेले आफैले गरिसक्छु भनेर समयसीमा समेत तोकेका कति काम गरे ? ती कामहरु फटाफट भईदिएको भए अहिले रुवाबासी कम नै हुने थियो ।

हामी लगानीकर्ताहरुले के बुझ्नुपर्छ भने अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेले भनेर हामीले कम्पनीको शेयरमा लगानी गरेका हैनौ । आफ्नो जोखिम बहन क्षमता, कम्पनीको अबस्था र प्रतिफलको आँकलन गरी शेयर बजारमा लगानी गरेका हौं ।

नाफा हुँदा नाफा सुरक्षित गर्ने र घाटा हुँदा घाटा ब्यहोर्ने प्रतिज्ञासहित शेयर बजार जोखिमकोे क्षेत्र हो भनेर नै हामी बजार प्रबेश गरेका हौं । त्यसैले अहिले फलानो निकायले यसो भन्यो भन्दै घाटा खाएर शेयर बिक्री गर्ने र रुवाबासी गर्ने हामी लगानीकर्ता हुन सक्दैनौ । खराब कम्पनीको शेयर उचालिएर किन्नु भनेर त्यतिखेर कुन निकायले भनेको थियो र अहिले हामी दोष लगाउँदै छौ ? हकप्रद र खराब कम्पनीमा उचालिनु हुन्न भनेर संझाउँदा कतिले धारे हात लगाउनु भएको थियो ? खासगरी साना तथा नयाँ लगानीकर्ताहरुले यो प्रश्नको जवाफ खोज्नु जरुरी छ ।

शेयर बजारमा अनेक खालका हल्ला चल्छन् र चलाईन्छन् । असार मसान्तमा ब्याज तिर्ने चटारो, राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा परिवर्तन गर्नसक्ने हल्ला, लकडाउन खुलेपछि शेयर बजारबाट लगानी बाहिरिने चिन्ता, नाफा सुरक्षित गर्नेहरुको सक्रियता लगायत कयौैं कुराहरुले पनि लगानीकर्ताहरुलाई तरंंगित बनाएको होला । तर यस्ता कुराहरु शेयर बजारमा लगानी गर्नेहरुका लागि सामान्य हुन् । बजारको जोखिम बुझेर लगानी गरेको खण्डमा आँत्तिनुपर्ने अबस्था हैन ।

शेयर बजारमा अहिले अत्याँसलाग्दो घटाई हुँदा लाभांश र पूँजीगत लाभ दुबै हुने किसिमका कम्पनीहरु छानी छानी सस्तो मूल्यमा घटाईको दर अनुसारै किन्दै जानुुमा बुद्धिमानी छ । भबिष्यमा राम्रो लाभांश र पूँजीगत लाभ हासिल हुने राम्रा तर सस्ता कम्पनीहरुको शेयर सकेको किनेर शेयर बजार घटेको मौकाको सदुपयोग गर्न चुक्नुहुन्न ।

शेयरको मूल्य घट्दै जाँदा यस्ता कम्पनीहरुको शेयर घटाईको दर अनुसार किन्दै जाने र शेयरको भाउ बढ्न थालेपछि बेच्दै जाने बानी बसाल्न सकियो भने शेयर बजारबाट गुमाउने संभावना कम हुन्छ । शेयर बजारमा जहिले पनि उल्टो बाटो हिड्ने प्रयास गर्नुपर्छ तर यहाँ शेयरको मूल्य उचालिएर टुप्पोमा पुग्दा किन्न हानाथाप गर्ने र शेयरको मूल्य तीब्र रुपमा घट्न थाल्दा रुवाबासी गर्ने प्रबृति हावी छ । नेपालको शेयर बजारको विडम्बना नै यही हो । शेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको शब्द सापटी लिएर भन्दा यस्ता थोरै लगानीकर्ता मात्र छन्, जसले मौकाको सही सदुपयोग गर्छन ।

(पूँजी बजार विकास अभियानका संयोजक कोइरालाको व्यक्तिगत विचार ।)

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।