दुई दिन पछि बढेको बजारमा कारोबार चाप सुस्त, साना वाणिज्य बैंकमा आकर्षण


दुई दिन निरन्तर घटेको शेयर बजार आइतबार भने उकालो लागेको छ । बजार खुले पछि ओरालो क्रममा रहे पनि झण्डै १ बजेदेखि सुस्त गतिमा उकालो लागेको बजार २७.३८ अंकले बढेको हो । योसँगै बजार परिसुचक नेप्से २८७०.३८ अंकमा उक्लिएको छ ।

यस अघि २ दिन लगातारको गिरावटमा ६८.६१ अंक गुमाएको बजारले आइतबार २७.३८ अंकको सुधार पाएको हो । गत मंगलबार ७९.४४ अंकले बढेको बजार बुधबार ५१.६५ अंकले र बिहीबार १६.९६ अंकले घटेको थियो ।

आइतबार २२७ कम्पनीका २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयरहरु ८२ हजार ५५ पटक किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैंयाको कारोबार भएको छ । पछिल्ला दिनमा बजारमा देखिएको उतारचढावका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसका कारण क्रमिक रुपमा कारोबार रकममा पनि संकुचन देखिएको हो ।

आइतबार वाणिज्य बैंक समुहमा ३८.२६ अंकको सुधार आएसँगै बजारलाई माथि बढ्ने टेवा मिलेको हो । जलविद्युत समुहमा सबैभन्दा धेरै सु्धार देखिएको बजारमा व्यापार, उत्पादन, लघुवित्त, अन्य र लगानी समुहमा पनि सुधार आएको छ ।

विकास बैंक, होटल, वित्त र नीर्जीवन बीमा समुहमा धेरै गिरावट आएको बजारमा जीवन बीमा समुहमा पनि गिरावट देखिएको छ ।

आइतबार साना तथा पछिल्ले पुस्ताका वाणिज्य बैंकहरुको शेयर मूल्य धेरै बढेको छ । यस क्रममा सेञ्चुरी बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसै गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्य पनि १० प्रतिशतले बढेको छ भने युनाइटेड इदी मार्दी, रिडी हाइड्रो, सिभल बैंक, नेशनल हाइड्रो, बुटवल पावर कम्पनी लगायतको शेयर मूल्य धेरै बढेको छ ।

गुर्खाज फाइनान्सको शेयर मूल्य धेरै घटेको बजारमा एभरेष्ट बैंक कन्भर्टिबल पिफरेन्स, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक लगायतको शेयर मूल्यमा धेरै गिरावट आएको छ ।
आइतबार बजारमा सुधार आएसँगै समग्र बजार पूँजीकरणको आकारमा पनि सुधार आएको छ । आइतबार बजार पूँजीकरण ३९ खर्ब ८७ अर्ब ६५ करोड रुपैंया कायम भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।