सिभिल बैंकको नाफा २० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ५५ करोड

0
Shares

सिभिल बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७६ करोड ४ लाख रुपैयाँ खूद नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २०.७२ प्रतिशतले नाफा बढाएको हो।

गत आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा ६२ करोड ९९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ६९ लाख ८६ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई अधिकतम ७ प्रतिशत मात्र लाभांश बाँड्न सक्दछ ।

अघिल्लो आवको तुलनामा ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा भएको सुधारले बैंकको नाफामा बढोत्तरी आएको हो। बैंकले एक वर्ष अवधिमा ५६ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर दुई अर्ब २० करोड २२ लाख आर्जन गरेको छ । यद्यपी बैंकको कर्मचारी खर्च ४० प्रतिशतले तथा अन्य खर्च शिर्षक बढ्दा बैंकको सञ्चालन नाफा एक अर्ब २१ करोड १९ लाख गरेको छ ।

असार मसान्तसम्म बैंकको निक्षेप संकलन २२.७३ प्रतिशतले बढेर ४२ अर्ब पुगेको छ भने कर्जा लगानी ११.६१ प्रतिशतले वृद्धि हुँदा ४२ अर्ब ६९ करोड कर्जा परिचालन गरेको हो।

आठ अर्ब ३३ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३१ करोड र शेयरधनी कोषमा ६२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।

यस्तै बैंककोे २.६४ प्रतिशतमा खराब कर्जाको अनुपात छ । कोषको लागत घटेर ८.४५ प्रतिशत कायम भएको छ भने बैंकको आधार दर घटेर ११.११ प्रतिशतमा झरेको छ ।

नाफामा भएको सुधारले बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५० पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२७.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.६३ गुणा कायम भएको छ ।