एनआईसी एशिया क्यापिटलले पाँचौ सामुहिक लगानी कोषका इकाई निष्काशन गर्ने


एनआईसी एशिया क्यापिटलले केही दिन अघि मात्र चौथो सामुहिक लगानी कोषका इकाई निष्काशन सकेर फेरी पाँचौ योजना अघि बढाएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

क्यापिटलले बन्दमूखी योजना सञ्चालनका लागि एक अर्ब रुपैंया बराबरका १० करोड इकाई निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

इकाई निष्काशनबाट जुट्ने सबै रकम शेयर बजारमा सूचीकृत सबै कम्पनीहरुमा लगानी गर्न सकिने प्रावधान राखिएको क्यापिटलले जनाएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीका अनुसार स्मल क्याप, मिड क्याप र लार्ज क्यापमा धेरै प्रतिफल पाउने किसिमले लगानीको योजना बन्नेछ । फण्डले बजारको गति अनुसार पूँजीगत आभका साथै लाभांशबाट राम्रो आम्दानी हुन सक्ने किसिमका कम्पनीको बिस्तृत अध्ययन गरेर मात्र लगानीको निर्णय गरिने बताएका रायमाझीले यसका लागि विशेषज्ञ टस्म बनाइएको बताए ।

यस अघि क्यापिटलले १ अर्ब रुपैंया बराबरको एनआईसी एशिया सेलेक्ट ३० इण्डेक्स फण्डका १० करोड इकाई निष्काशन गरेको थियो । निष्काशन गरेकोभन्दा बढी इकाई माग भए पछि फण्डको आकार १ अर्ब २५ करोड रुपैंया कायम भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।