सिद्धार्थ बैंकको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को बिक्री खुला, १०.२५ प्रतिशत ब्याज

0
Shares

सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेकोे छ। बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

निष्काशित २५ लाख इकाईमध्ये एक अर्ब बराबरको १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई व्यक्तिगत तवरबाटै बैंकले संस्थाहरुलाई बिक्री गर्नेछ ।

७ वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८३’ ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ । ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत ऋणपत्रमा छिटोमा भदौ ९ गते तथा सो अवधिमा बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन गर्न सक्नेछन्।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था छ ।

गत असारसम्मको विवरण अनुसार बैंकको पूँजीकोष प्रयाप्तता १२.५६ प्रतिशत छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा २१.२५ प्रतिशतले बढाएर एक अर्ब ९० करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो । जसको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९८ पैसा छ ।

बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २५ करोडको ऋणपत्र बिक्री गरेको थियो । बैंकले गत मंसिर २३ गतेदेखि पुस २३ गतेसम्म उक्त ऋणपत्र जारी गरेको थियो। बैंकले १०.५ प्रतिशत ब्याजदरमा एसबिएस डिबेञ्चर २०८२ जारी गरेको थियो । यो ऋणपत्र ७ वर्ष अवधि पश्चात परिपक्व हुनेछ ।

किन निष्काशन गदैछन् बैंकहरुले ऋणपत्र ?

चालु आर्थिक बर्षको मौद्रिक नीतिले सबै वाणिज्य बैंकहरुले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य ऋणपत्र जारी गर्नुपर्नेछ ।

यसरी जारी गरेरको ऋणपत्रबाट आएको शतप्रतिशत रकम कर्जा प्रवाहको लागि उपयोग गर्न सक्ने मौद्रिक नीतिमा उल्लेख छ। ऋणपत्र जारी गर्दा बैंकहरुलाई पूँजी लागत कम पर्ने र शेयरधनीको प्रति शेयर आम्दानीमा थप सुधार आउनेछ । बैंकहरुले पूँजीकोष सबल बनाएर अतिरिक्त पूँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने गरेका छन् ।