रवि लामिछानेको बैंक खाता विवरण माग्दै प्रहरीले लेख्यो राष्ट्र बैंकलाई पत्र

0
Shares

नेपाल प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी रबी लामिछाने लगायत तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुको बैंक खाता विवरण माग गरेको हो। प्रहरीले गत भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाताको विवरण माग गरेको हो ।

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ।

चितवनको होटल कंगारुमा साउन २० मा आत्महत्या गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए। रविले ठूला ब्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए।

यो बाहेक उनले मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने गरेको विषय सार्वजनिक भएपछि प्रहरीले उनको बैंक खाता तथा कारोबार खोजबिन सुरु गरेको नेपाल खबरले लेखेको छ ।

प्रहरीले राष्ट्र बैंकले विवरण उपलब्ध गराएपछि शालिकरामले भनेअनुसार रविको खातामा स्रोत नखुलेको रकम भेटिए सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलाई समेत कारवाहीका लागि पत्र लेख्ने तयारी गरेको छ।