आईपिओकै मूल्यमा लिलामीको शेयर उठाउने अवसर, दोस्रो बजारमा झन सस्तो

0
Shares

दोस्रो बजारमा प्रतिकित्ता ९६ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको बेष्ट फाइनान्सको ८ लाख २ हजार २२४ कित्ता शेयर आईपिओकै मूल्यमा खरिद गर्न सकिने भएको छ । कम्पनीले आजदेखि उक्त परिमाणको शेयरको लिलामी खुला गरेको छ।

फाइनान्सले संस्थापकतर्फ ५ लाख ५७ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४४ हजार ५४९ दशमलव ९० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

दोस्रो बजारमा ९६ रुपैयाँमा कारोबार भैरहेको बेष्ट फाइनान्सको शेयर मूल्य एक समय प्रतित्तिका ९१ रुपैयाँसम्म झरेको थियो ।

इच्छुक लगानीकर्ताले सर्वसाधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी लिलामीमा ल्याइएको सम्पूर्ण कित्ताका बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धि मूल्यमा बोलपश पेश गर्न सकिनेछ । सबैभन्दा उच्च मूल्यमा बोलपत्र पेश गर्ने लगानीकर्तालाई प्राथमितामा राखेर उक्त शेयर बाँडफाँड हुनेछ ।

हकप्रदमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, बेष्ट फाइनान्सको सबै शाखा कार्यालयहरु र प्रभु बैंकको तोकिएको शाखा कार्यालयहरु मार्फत भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा बेस्ट फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंसहित यसका शाखा कार्यालय बुटवल, नेपालगंज, दाङ तथा पोखराबाट पनि लिलामी भर्न सकिनेछ ।

यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणगढ, बाग्लुङ र महेन्द्रनगर शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

बेष्टमा गाभिएको साबिकको सिनर्जीले जारी गरेको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रदमा अवितरित शेयर ८ लाख ५ हजार कित्ता शेयर यसअघि गत पुस ११ देखि माघ १० गतेसम्म लिलामी बिक्रीमा ल्याइएपनि सबै शेयर बिक्री नभएपछि फेरि लिलामीमा ल्याइएको हो।

यता, बेस्टले सिनर्जीलाई १ः१ स्वाप रेसियोमा सिनर्जी फाइनान्सलाई एक्वायर गरी २०७५ साउन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । एक्विजिसनपछि यसको चुक्ता पुँजी ८१ करोड १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथोे त्रैमासमा बेस्टले ८ करोड १७ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।