नेप्से सूचक ३ हजार २०० बिन्दुमा, विकास बैंक र फाइनान्समा आकर्षण कायमै

0
Shares

शेयर बजार सूचक मापक नेप्सेले फेरि ऐतिहासिक बिन्दु चुमेको छ । भदौ २ गते बुधबार नेप्से सूचक ३८.२८ अंकले बढेर ३ हजार १९८ दशमलव ६० बिन्दुमा बन्द भएको हो । यसबीचमा २ बजेर ९ मिनेट जाँदा नेप्से सूचक ६० अंक बढेर ३ हजार २२०.३३ बिन्दुसम्म उक्लिएकोमा पछिल्लो घण्टामा केही घटेर बजार बन्द भएको हो ।

बुधबार कारोबार रकम पनि अघिल्लो दिन मंगलबारको तुलनामा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँले बढेर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाघेको छ । यसभन्दा अघि साउन ३१ गते आइतबार २१ अर्ब ६४ करोडको सर्वाधिक रकमको रेकर्ड छ । उक्त रेकर्डभन्दा बुधबार ३३ करोड ४२ लाख रुपैयाँ कम कारोबार भएको हो ।

बुधबार २२९ कम्पनीका ३ करोड ६५ लाख ९९ हजार ७५१ कित्ता शेयर १ लाख ८८ हजार ४५४ पटक खरीद बिक्री भएका छन् । कारोबारमा विकास बैंक र फाइनान्समा आकर्षण उच्च देखिएको छ । यसले ती समुहका सूचक उच्च बढेका छन् । विकास बैंक ५.५५ र फाइनान्सको इन्डेक्स ४.८७ प्रतिशतले बढेका छन् । उत्पादन तथा प्रशोधन ३.५५, जलविद्युत १.३५, लगानी सूचक १.४२ प्रतिशतले बढेको छ । म्युचुअल फण्डको सूचक १.३९ प्रतिशतले घट्दा ब्यापार सूचक पनि सामान्य घटेको छ । बुधबार एघार समुहका सूचक बढे ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक ७८.८६ करोडको शेयर कारोबारमा आएको छ । अपि पावर, लुम्बिनी विकास बैंक, महालक्ष्मीविकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंकको ५० करोड बढीको शेयर खरीद बिक्री भएको छ । सानिमा माई, अरुण भ्याली हाइड्रोपावर, नेपाल बैंक र शिवम् सिमेन्टस्को ४२ करोड बढीको शेयर कारोबार हुँदै शीष दश कम्पनीभित्र अटाएका छन् ।

बुधबार कारोबारमा आएका ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवम् सिमेन्टस्, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अरुण काबेली पावर, आँखुखोला हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

यसदिन एसबिल डिबेञ्चरको मूल्य सर्वाधिक ५.८६ प्रतिशतले घट्दा एनआईबिएल प्रगति फण्ड, एनआईसी एशिया डिबेञ्चर २०८२/८३, आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।