काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् । उनलाई वासिङ्टन, डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरे ।
भ्रमणका क्रममा माननीय मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने छन् ।
भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ।
छलफल र भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ।
साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ।







