
अर्थमन्त्री जर्नादन शर्माले शेयर बजारका लगानीकर्तालाई शेयर धितोकर्जाको सीमामा पुनरावलोकन गर्न सकिने बताएपनि सो अनुसारको आश्वासन कार्यान्वयन भने भएन ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न मंगलबार जारी गरेको एकीकृत निर्देशनमा नीतिमा नै व्यवस्था भएको एक व्यक्ति वा संस्थालाई बढीमा १२ करोड मात्रै शेयर धितोमा कर्जा दिने व्यवस्था कायम नै रहेको हो ।
राष्ट्र बैंकले २०७८ भदौ ८ गतेभन्दा अघि कुनै कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह गरेको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नुपर्ने व्यवस्था एकीकृत निर्देशन मार्फत गरेको हो ।
सर्कुलरमा भनिएको छ, ‘निर्देशन जारी हुनु पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नु पर्नेछ ।’
नेपाल इन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघ नेपालको एक प्रतिनिधि मण्डलले साउन ३१ गते अर्थमन्त्रीलाई भेटेर मौद्रिक नीति मार्फत शेयर धितोकर्जामा लगाइएको सीमा हटाउन माग गरेको थियो । भेटमा अर्थमन्त्री शर्माले मौद्रिक नीतिको व्यवस्थाले शेयर बजारलाई केहि प्रभाव पार्ने देखिए जुनसुकै बेला संशोधन गर्न सक्ने बताएका थिए । उनले आफुले शेयर बजार घटाउने गतिविधि हुन नदिने आश्वासन समेत दिएका थिए ।
चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत गभर्नर महाप्रसाद अधिकारिले शेयर धितो ऋणमा कडाइ गर्दै एक व्यक्तिले शेयर धितोमा राखेर १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरेका थिए ।
राष्ट्र बैंकको निर्णयले शेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित भएको अवस्था छ । हाल ठूला ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्ता व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको थियो । बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा ७० प्रतिशतको धितोको सीमा भने यथावत छ । शेयर धितोमा पछिल्लो १२० दिनको औसत मूल्यलाई आधार मानेर कुल सेयर मूल्यको ७० प्रतिशतसम्म ऋण पाइने गरेको छ।
‘साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने बाहानामा पूँजी बजारलाई ध्वस्त बनाउन खोजिएको’ भन्दै ठूला लगानीकर्ताले बिरोध गर्दै आएका छन् । गत असारसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा करिव १ खर्ब ऋण प्रवाह गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया