विसं २०७६ असार महिनामा रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामकीचार वर्षीया लक्ष्मीकुमारी यादवको आफ्नै बुवा रामकिशोर यादवले हत्या गरे । हत्याको कारण थियो बीमा रकम । प्रहरी अनुसन्धानबाट हत्या पछिको कारण बीमा रकम रहेको ठहर्यो ।
हत्या भएको एक महिना अघि अर्थात जेठ महिनामा रामकिशोरले प्रभु लाइफ इन्स्योरेन्सबाट २५ लाख रुपैयाँको छोरीको जीवन बीमा गरेका थिए । छोरीको मृत्यु भएमा २५ लाख रुपैयाँ पाउने मनसायले २०७६ असार १६ गते रातिहत्या गरेको रामकिशोरले स्वीकार गरे ।
सोही वर्ष असार महिनामा पोखरा राम बजारका ३५ वर्षीय रमेश नेपालीले २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरे ।
जडीबुटी खोज्नजाने बहानामा जंगलमा लगेर उनले श्रीमतीको हत्या गराएका थिए । हत्या भएको केही दिनअघि मात्रै उनले श्रीमतीको नामबाट युनियन लाइफइन्स्योरेन्स कम्पनीमा १ करोड रुपैयाँको बीमा गराएका थिए । अनुसन्धानमा संलग्न प्रहरीले लक्ष्मीको हत्याको कारण बीमा रकम रहेको पुष्टि गर्यो । उनले बीमा रकमकै लोभले श्रीमतीको हत्या गरेको हुनसक्ने अध्ययनले देखायो । अनुसन्धानको क्रममा यो घटनामा बीमा कम्पनीका प्रतिनिधिको समेत संलग्नता देखिएको थियो ।
व्यवसायीक घराना चौधरी (विनोद) ग्रुपको काठमाडौं सतुंगलमा रहेको सिजी इम्पेक्स र सिजी इलेक्ट्रोनिक्समा विसं २०६९ असोज महिनामा आगलागी भयो । बीमाबाट ठूलो रकम दाबी गर्ने उद्देश्यले सो आगलागी गरिएको भन्दै उक्त घटना विवादमा तानियो । आगलागीबाट हुन गएको ७० करोड १५ लाख रुपैयाँ क्षतिवापत परेको दाबी युनाइटेड इन्स्योरेन्सले भुक्तानी गरेको थियो ।
यस्तै, विसं २०७६ पुस २२ गते सुनसरीको दुहबीस्थित सिजीको पशुपति बिस्कुट उद्योगमा आगलागी भयो । विसं २०७८ जेठ १९ गते पूर्वी नवलपरासीको देवचुलीस्थित सिजी उद्योग ग्राममा चाउचाउ र वियर प्लान्टमा पनि आगलागी भयो ।
बालाजु औद्योगिक क्षेत्रकै दोस्रो ठूलो उद्योग मानिने नेविको विस्कुटमा पनि २०७८ साउनमा अगलागी भयो । उपत्यकामा रहेका सबै दमकल र हेलिकप्टरको समेत प्रयोग गरेर निकै लामो समयको प्रयासपछि आगो नियन्त्रणमा ल्याईयो । नेविको प्रा.लि. ले विस्कुट कारखानाको बीमा सानिमा जनरल इन्स्योरेन्समा गरेको छ । कम्पनीमा कारखानाको २६ करोड रुपैयाँ बीमाङ्क बराबरको बीमा गरिएको थियो ।
उल्लेखित केही घटनाहरुमा बीमा रकमको विषयमा नै प्रत्यक्ष घटना जोडिएको भएपनि घटनाको प्रकृतिका सम्बन्धमा ठोस विषय खुलेका छैनन् । तर घटना घटेको मात्र नभई घटाइएको हुन सक्ने कुराको सम्भावना पनि उत्तिकै रहन्छ ।
पछिल्लो समय ठू ठूला उद्योग कारखानामा हुने आगलागीलाई लिएर बीमाको रकम पाउनका लागि नियोजित रुपमा घटना घटाएको हुनसक्ने भन्ने अड्कल समेत काट्न थालिएको छ । पटक पटक ठूला उद्योगमा आगलागी हुनु, बीमा कै रकम पाउनका लागि आफन्तको हत्या गर्नु लगायतका घटनाले बीमा बजारमा तरङ्ग उत्पन्न गरेको छ ।
नेपालमा पछिल्लो समय बीमाको पहुँच बढ्दै गईरहेको छ । जतिजति बीमाको पहुँच बढ्दै गएको छ त्यत्ति नै मात्रामा गी पनि बढ्नसक्ने खतरा माथिका घटनाले देखाएका छन् ।
छिमेकी मुलुक भारतमा यस्ता खालका घटना घट्ने गरेको तथ्याङ्क सुन्न पाइए पनि नेपालका लागि भने यस्ता घटना बिरलै सुन्न पाइने गरेको छ । तर पछिल्ला दिनहरुमा यस्ता घटनाहरु बढ्दै गइरहेका छन् । यो क्रम बढेर बीमा बजार नै बिग्रिने हो कि भन्ने डर र आशंकाबीमा क्षेत्रमा देखा पर्न थालेको छ ।
बीमा क्षेत्रमा ठगीका घटना थुप्रै घट्छन् । यस्ता केही घटना मात्र सार्वजनिक हुने र धेरै जसो घटनाहरु सामसुम पारेर मिलाउने अभ्यास हुने गरेको सरोकारवालाहरु बताउँछन् । खासगरी जीवन बीमामा भन्दा पनि निर्जीवन बीमा व्यवसायमा बीमामा ठगी गर्ने घटना धेरै घट्ने बीमा विज्ञ डा. रबिन्द« घिमिरे बताउँछन् । विदेशी मुलुकहरुमा स्वास्थ्य बीमा, मोटर बीमामा बढी ठगीका घटना घट्ने अध्ययन अनुसन्धानले देखाएको उनले बताए ।
बीमाको माध्यमबाट ठगी गर्ने ठगहरुलाई कस्तो खालको सजाय मिल्छ भन्ने उचित कानुनी व्यवस्था नभएका कारणले गर्दा पनि ठगीका घटना मौलाउन सक्ने उनको तर्क छ । त्यस्ता घटना बढ्न नदिन र उचित रुपमा दण्ड सजाय दिनका लागि नियामक निकायको महत्वपूर्ण भुमिका हुने सरोकारवालाहरु बताउँछन् ।
ठगीका घटना रोक्न ऐन कानून बलियो हुनुपर्छः बीमा विज्ञ घिमिरे
नेपालमा बीमामा हुने ठगीलाई कम गर्न ऐन कानून बलियो हुनुपर्छ । प्रस्तावित बीमा ऐनमा ठगी सम्बन्धी धेरै कुराहरु समावेश भएपनि पुरानो ऐन नियममा खासै प्रस्ट व्यवस्था छैन ।
विदेशी मुलुकमा जस्तै नेपालमा पनि बीमाको माध्यमबाट ठगी गर्ने ठगहरु छन् । यसको विरुद्धमा सशक्त रुपमा आवाज उठाउनुपर्ने, ऐन नियम कानून पनि बलियो हुनुपर्ने देखिन्छ । ठगीका घटनाहरु कम गर्नका लागि बीमा कम्पनी, नियामक निकाय लगायतका सबै क्षेत्र सक्रिय हुनुपर्छ ।
नियामक निकायमा बीमा ठगी तथा जालसाजी विरुद्ध नामक अभियान नै चलाउनुपर्छ । नियामक निकायले पनि ठगी प्रति चासो नदिएका कारण ठगीका घटनाहरु बढीरहेको बीमा विज्ञ डा.रविन्द्र घिमिरे बताउँछन् ।
विदेशतिर बीमामा कति ठग भएको छ भनेर अनुसन्धान पनि हुन्छ । तर नेपालमा अहिलेसम्म पनि कति ठगी हुने गरेको छ भनेर अध्ययन पनि भएको छैन । ठगी सम्बन्धी कुनै पम्प्लेट तथा प्रचार प्रसार पनि भएको छैन ।
मिस सेलिङ र अण्डर राइटिङ कमजोर
बीमा क्षेत्रमा ठगीका घटना बढ्नुमा बढ्दो मिससेलिङ र अण्डर राइटिङ कमजोर रहेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।
“बीमा गर्नुपर्ने थियो गोदामको, अगाडि पट्टी सोरुम छ, पछाडि गोदाम छ, सोरुमको पैसामा गोदामको बीमा गर्ने त्यस्ता विकृति बीमा क्षेत्रमा छन् ” अध्यक्ष सिलवालले भने । यस्ता खालका घटना नियन्त्रण गर्न समिति लागिपरेको उनले बताए ।
बीमा क्षेत्रमा देखिएमा विकृति, ठगीका घटनालाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुरामा कम्पनीहरुसँग छलफल गरेको उनको भनाई छ । ६ महिनाभित्रमा बीमा क्षेत्रमा देखिएका विकृतिलाई कम गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
बीमा क्षेत्रमा मिस सेलिङ छ भन्ने कुरामा उनको सहमत छ । बीमा क्षेत्रमा हुने गरेका मिस सेलिङलाई कम गर्नका लागि समिति ६ महिनादेखि लागि परेको उनले बताए ।
“मिस सेलिङ गर्नु भएन, बीमितलाई यथार्थ कुरा भन्नु पर्यो, बीमा गर्दा बीमा सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्नुपर्छ” उनले भने । अहिले पनि जालसाजी, फटाहा, ठगी सम्बन्धी बेग्लै कानुन रहेको उनले बताए । सोही कानुन बमोजिम नै बीमामा ठगी गर्नेलाई कानुनी सजाय मिल्ने उनको भनाई छ ।
“जानीजानी आफैँले आफ्नो सम्पत्तिमा क्षति पुर्याएर बीमाको रकम लिन खोजेको हो भनेर प्रमाणित भयो भने सजाय हुन्छ” उनले भने । जानजान क्षति पुर्याएर बीमाको रकम लिन खोज्ने केही घटना विरुद्ध सजाय समेत दिएको समेत उनले बताए ।
बीमा फाइदा होइन, सुरक्षा हो
बीमा जीवन र निर्जीवन गरी दुई प्रकारका हुन्छन् । जीवित व्यक्तिको बीमालाई जीवन बीमा भनिन्छ, भने भौतिक सम्पत्तिको बीमालाई निर्जीवन बीमा । मानवीय जीवनमा जोखिम जताततै छ । पछिल्लो समय प्रविधिको विकाससँगै नयाँ खालका जोखिमको समेत सिर्जना भइरहेको अवस्था छ । यस्तो अवस्थामा हुनसक्ने आर्थिक क्षतिलाई कम गर्न अपनाइने सुरक्षा कवच नै बीमा हो ।
बीमा भविष्यमा आई पर्नसक्ने भवितव्य जोखिमलाई सामना गर्न सकियोस् भनेर गरिन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो ।
अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्कबुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् ।
मानिसले आफ्नो आर्थिक अवस्था र जोखिमको अवस्थालाई हेरेर बीमा योजना खरिद गर्न सक्छन् । तर पछिल्लो समय बीमा सुरक्षाका लागि भन्दा फाइदा गर्नका लागि नै गरिन थालेपछि बीमाको उदेश्यसँग मेल खाएको पाइँदैन । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका साथै सरोकारवाला निकायहरुले यस क्षेत्रको विकृतिहरुलाई न्यूनिकरण गर्दै बीमाप्रतिको विश्वासलाई कायम राख्न जरुरी छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया