लगानीयोग्य रकम बढाउन बैंकहरुलाई थप सुविधा, विदेशी मुद्राको निक्षेपमा ऋण

0
Shares

बैंक तथा वित्तीय संस्थाले विदेशी व्यक्ति संस्था र गैरआवासीय नेपालीले मुद्दती निक्षेपमा जम्मा गरेको विदेशी मुद्रा बराबरको रकम नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले लगानीयोग्य रकम बढाउन भन्दै बैंकहरुलाई योे सुविधा दिएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकल घोषणा गरेको नयाँ व्यवस्था यसै साताबाट कार्यान्वयनमा आएको हो । राष्ट्र बैंकले १६ बुँदे निर्देशन जारी गर्दे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि यस्तो व्यवस्था थिएन ।

‘बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीहरूबाट कम्तीमा पनि दुई वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्न सक्ने र यस्तो निक्षेपको शतप्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ ।

नयाँ व्यवस्थाअनुसार मुद्दती निक्षेपमा विदेशी संस्था तथा गैरआवासीय नेपालीले खाता खोल्न पाउनेछन। दुई वा दुईभन्दा बढी संस्था वा गैरआवासीय नेपालीको नाममा संयुक्त रूपमा समेत खाता खोल्न सकिनेछ । यस्तो निक्षेप जम्मा गर्दा कम्तीमा १० हजार डलर बराबरको रकम निक्षेप गर्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख छ । निक्षेपको अवधि कम्तीमा दुई वर्ष हुनुपर्ने व्यवस्था छ ।

विदेशी व्यक्ति संस्था र गैरआवासीय नेपालीले अमेरिकन डलरका साथै युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रियन तथा क्यानेडियन डलरमा पनि खोल्न निक्षेप खाता खोल्न पाउनेछन्

बैंक तथा वित्तीय संस्थाहरुले विदेशी बैंकबाट लिएको ऋण र यस्तो निक्षेपको अंश प्राथमिक पुँजीको शतप्रतशित मात्र हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।