शेयर बजारका लगानीकर्ताहरु चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा रहँदा कारोबारमा सुस्तता आएको छ । समीक्षा सार्वजनिक हुने दिन नजिकँदै गर्दा शेयर किनबेचको क्रम घट्दा कारोबारमा सुस्तता देखिएको छ ।

नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको समीक्षा ल्याउने अपेक्षा लगानीकर्ताले गरेको भए पनि आगामी साता मात्र आउने भएको छ । पर्ख र हेरको अवस्थामा रहेका शेयर लगानीकर्ताले खरिद बिक्रीको क्रम केहि घटाएकाले साताको अन्तिम दिनको कारोबार रकममा गिरावट आएको छ ।
मौद्रिक नीतिको विषयलाई लिएर बजारमा अनेक हल्ला चलाएर चलखेलको प्रयास हुँदा बजारमा तीब्र उतार-चढाव समेत देखिएको छ । शेयर लगानीकर्ता तथा कारोबारीहरुले बजारबाट लाभ लिनका लागि अनेक प्रकारका हल्लाहरु फिँजाउने गरेका छन् ।
मौद्रिक नीतिको समीक्षा मार्फत शेयर धितो कर्जामा केहि खुकुलो नीति अपनाइने अपेक्षा लगानीकर्तामा छ । खासगरी मौद्रिक नीतिको समीक्षामा सीडी र सीसीडी रेसियो तथा शेयर धितो कर्जाको ४–१२ को सीमामा केही परिवर्तन हुन्छकी भन्ने अपेक्षा ठूला लगानीकर्ताको छ । तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले दीर्घकालिन सोचका साथ नीतिहरु ल्याएको बताउँदै आएका छन् । अर्थमन्त्री जनार्दन शर्माको दबाबले राष्ट्र बैंकले केही नीतिमा लचकता अपनाउन विश्लेषणहरु समेत भइरहेका छन् ।
यो साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ अंकमा झरेको छ। बिहीबार २३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भयो । बुधबार ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
काराेबारमा आएका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९१ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको ०.७६ प्रतिशत र बैंकिङ्गको ०.५४ प्रतिशत बढेको छ। यस दिन व्यापार, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशत बढेको छ । मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशत घटेको बजारमा साना किसान विकास लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंकको पनि ५ प्रतिशत बढीले घटेको छ।
कारोबार रकममा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ५७ लाख १३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया