साल्ट कर्पोरेशनले तेल उत्पादन गर्ने

0
Shares

नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट सूचना कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने भएको छ ।

हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवनलगायत तराई/मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पोरेशनले जनाएको छ ।

निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा निकट भविष्यमा नै कर्पोरेशनले एलजिएस प्रविधिबाट ‘प्रि इञ्जिनीयरिङ हाउस’ आम उपभोक्तामाझ ल्याउने तयारी गरिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कर्पोरेशनको ५७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति र नियमभित्र रही दैनिक उपभोग्य वस्तुका अतिरिक्त रासायनिक मलको बिक्री वितरण गर्दै आएको जानकारी दिए ।

हाल कर्पोरेशनले नुनमा आयोडिन मिसाइ प्रमुखरुपमा बिक्री वितरण गर्दै आएको छ । स्वास्थ्य सर्वेक्षणका अनुसार आयोडिनयुक्त नुनको पहुँच पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकामा पुगेको छ । यो सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको लक्ष्यभन्दा माथि रहेको छ ।

यसैगरी आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९० प्रतिशतभन्दा माथि रहेको छ । कर्पोरेशनले वार्षिक दुईलाख मेट्रिक टन नुन देशका ७७ जिल्लामा बिक्री वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुनले गलगाड रोग नियन्त्रणमा कोशेढुङ्गाको काम गर्दछ । कर्पोरेशनका वरिष्ठ व्यापार अधिकृत ब्रजेश झाका अनुसार कर्पोरेशनले आफ्ना नेपालगञ्ज, धनगढी, सिमरा, लालगढ र विराटनगरका पाँचवटा गोदाम घरमा छ महीनालाई पुग्ने रु दुई अर्बभन्दा बढीको नुन भण्डारण गर्दै आएको छ ।

पछिल्लो समय आयोडिन नुनका कारण गलगाड रोगीको सङ्ख्या शून्यमा झरेको उनले जानकारी दिए । सन् १९८५ मा नेपालमा सो रोगीको सङ्ख्या ४४ प्रतिशत रहेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च नेतृत्व वर्गले नुनको बिक्री वितरणमा कर्पोरेशनको एकाधिकार अन्त्य गर्ने नीति मन्त्रालयको नभएको बताएका थिए। विषम एवं कठिन परिस्थितिमा कर्पोरेशनले नुन तथा दैनिक उपभोग्यवस्तुको बिक्री वितरण तथा बजारलाई मूल्य स्थिर बनाउन सरकारलाई सहयोग गरिराखेकाले अगामी दिनमा कर्पोरेशनलाई थप सहयोग गर्ने जानकारी दिइएको थियो । हाल कर्पोरेशनमा सरकारको शेयर २२ प्रतिशत हिस्सामात्र रहेको छ ।