लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड, शेयर बजारमा उछाल

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताको मनोबल बढाउनुपर्ने आवश्यकता औल्याएका छन् । निरन्तर दोहोरो अंकले बजार घटिरहेको अवस्थामा अर्थमन्त्रीको एकाएक यस्तो अभिव्यक्ती आएको हो ।

कर्मचारी सञ्चय कोष ५७ वर्ष पूरा गरी ५८ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नयाँ लगानीकर्तालाई दोस्रो बजारमा लगानीको आह्वान समेत गरेका छन्।

अर्थमन्त्री खतिवडाले कर्मचारी सञ्चयकोष जस्ता निकायले शेयर बजारमा प्रवेश गर्नुपर्ने बताए। बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक नाफा आर्जन गरिरहेका, देशको आर्थिक वृद्धिदर उच्च रहँदै आएको लगायतका कारण दर्शाउँदै उनले दोस्रो बजार प्रवेशको उपयुक्त अवसर भएको समेत बताए ।

साथै उनले सरोकारवाला निकायले लगानीकर्ताको मनोबल उकास्ने तर्फ ध्यानकर्षण गराए । त्यस्तै, कर्मचारी सञ्चय कोषलाई प्राथमिक बजार सुधारका लागि विश्वासिलो काम गर्नसमेत निर्देशन दिए ।

कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, दूरसंचार कोष तथा सरकारी तथा निजी क्षेत्रबाट संञ्चालित सम्पूर्ण कोषहरुको रकम अनुशासित रुपमा परिचालन गर्नुपर्ने अर्थमन्त्रीको भनाई छ । 

अर्थमन्त्रीले शेयर लगानीकर्ताको मनोबल बढाउनु पर्ने र संचयकोष लगायतको भुमिका प्रभावकारी हुनुपर्ने बताईरहदा एकाएक शेयर बजारमा उछाल आएको छ । एक घण्टाको अवधिमा नेप्से सूचक १६ अंक बढीले उकालो लागेको छ भने अधिकांस सूचक सकारात्मक देखिएका छन् । नेपाल बैंक र सिद्धार्थ बैकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।