सिंहदरबारभित्र सवा पाँच अर्बको लागतमा यस्तो बन्नेछ संघीय संसद भवन

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिंहदरबार परिसरभित्रै निर्माण हुन लागेका संघीय संसद भवनको शिलान्यास गरेका छन्।

सरकारले देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद्को आफ्नै भवन निर्माण गर्न लागेको हो।
अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार ५ अर्ब २६ करोड लागत लाग्ने अनुमान गरिएको छ । उक्त भवनको निर्माण तीन वर्ष्भित्र निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको छ।

नव निर्मित संसद भवन आधुनिक र प्रविधिमैत्री हुने बताइएको छ। १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिने सो भवनबाट संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय सञ्चालन हुने बताइएको छ।

संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेसछपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछन्।

संसद्को आफ्नै भवन नहुँदा एक दशकभन्दा बढी समयदेखि वर्षको करिब १५ करोड भाडा दिएर अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन हुँदै आएको छ।