अर्थमन्त्रीको अभिव्यक्तीपछि ५० अंक उफ्रियो नेप्से, तिब्र उछालमा सजग हुन जरुरी !

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिएपछि शेयर बजार परिसूचक नेप्सेले उच्च अंकको छलागं मारेको छ । मन्त्रीको बजारमैत्री भाषणपछि नेप्से सूचक दुई दिनमै झण्डै ५० अंक बढेको छ ।

लगातार आठ दिन ओरालो लागेको ७२ अंक तल झरेको नेप्सेमा दुई दिनमा करिब ५० अंकको सुधार आएको छ । मंगलबार अर्थमन्त्रीले शेयर बजारमा लगानी गर्ने उपयुक्त अवसर आएको भन्दै लगानीकर्तालाई लगानी बढाउन आह्वान गरेकै दिन २७ अंक बढीले उकालो लागेको थियो । सोही क्रमलाई निरन्तरता दिदैं बुधबार पनि बजार २२ अंक बढीले उकालो लागेको छ ।

तर बजार केही विश्लेषकहरुले अर्थमन्त्रीको भाषण लगत्तै तिब्र गतिमा बजार बढेकाले बजारमा एक्कासी भएको वृद्धि टिकाउ हुनेमा आशंका व्यक्त गरेका छन् । 

बजार विकासका लागि सकारात्मक पहल भइरहेको र अर्थमन्त्री समेत बजारप्रति सकारात्मक देखिदा लगानीकर्तामा उत्साह जाग्नु स्वभाविक नै हो । तर, यस प्रकारको तिब्र वृद्धिले बजारमा चलखेलको प्रयास समेत भएको ती विश्लेषकले बताए । यस प्रकारका तिब्र उतारचढाबका बेला लगानीकर्ताहरु झन बढी सजग हुन आवश्यक रहेको उनको भनाई छ ।

नेप्सेले पनि बजार निर्माताको काम गर्नको लागि प्रतिवेदन तयारी भएको बताएको छ । यसैगरी, उपत्यका बाहिर ब्रोकर लाइसेन्स खुला गर्न अध्ययन पूरा गरी सञ्चालक समितिमा छलफलको क्रममा रहेको, ओटीसी बजार सुधारका क्रममा रहेको लगायतका प्रगति विवरण सार्वजनिक गरेकाले पनि लगानीकर्तामा थप उर्जा बढेको देखिन्छ ।

नागरिक लगानीकोष तथा संचयकोषलाई शेयर बजारमा लगानी बढाउन अर्थमन्त्रालयले नै सुझाएपछि लगानीकर्तामा थप उत्साह पैदा भएको देखिन्छ । तल्लो विन्दुमा पुगेको बजारमा शेयर उठाउने क्रम बढेकाले बजार सकारात्मक हुन पुग्यो।

बुधबार नेप्से सूचक २२.६८ अंकले सुधार हुँदा ११७३.४२ अंकमा पुगेको छ। १.९७ प्रतिशतले सुधार भएको बजारमा ४७ करोड ६८ लाख रुपैयाको कारोबार भएको छ। बुधबारको शेयर बजारमा १२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटाको घटेको छ।

यसदिन सबैभन्दा धेरे शिवम सिमेन्टको ६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । कारोबार भएका व्यापारिक बाहेक बाँकी सबै समूह बढेका छन् ।

यसदिन जीवन बिमा समूह सबैभन्दा धेरै १७१.९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १८.७ अंकले उक्लिएको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ४.५४ प्रतिशतले घटेको छ ।