बैंकहरुमा नयाँ निक्षेप थपिनुको सट्टा भएको पनि झिकिदा तरलता अभावको समस्या झनै जटिल बनेको छ । बैंकहरुबाट ठूलो मात्रामा निक्षेप झिकिने क्रम बढेपछि बैंकिङ प्रणलीको तरलता १४ अर्बमा सीमित भएको हो ।
चालु आर्थिक वर्षको पुस महिनामा स्वदेशी र विदेशी दुबै गरेर ८७ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा थपिएको थियो । तर, माघ महिना लागेपछि १० दिनमा नै ३० अर्ब रुपैयाँ निक्षेप बैंकहरुबाट झिकिएको छ । यसले बैंकिङ क्षेत्रको तरलता अभावको समस्यालाई थप जटिल बनाएको स्पष्ट हुन्छ ।

बैंकहरुमा निक्षेपको हाहाकार भएपछि सरकारले स्थानीयतहका खातामा रहेका पैसालाई बैंकहरुले ८० प्रतिशतसम्म निक्षेप गणना गर्ने व्यवस्था गरिदियो । स्थानीय सरकारले त्यो रकम चलाउँदा बैंकहरुको निक्षेपमा उच्च उतारचढाव आएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “बिहीबार बैंकिङ प्रणालीमा १४ अर्ब रुपैयाँ मात्र तरलता छ,” ती अधिकारीले भने,“स्थानीय तहको पैसामा बैंकहरुको निर्भरता बढेको हुँदा पनि त्यसले निक्षेप घट्ने तथा तरलतामा थप कसिलो अवस्थामा जाने देखिएको हो ।”
पछिल्लो दिनहरुमा बैकहरुबीचको कारोबार दर अर्थात अन्तर बैंकदर पनि ५ प्रतिशत पुगेको छ । बैंकहरुले अन्तर बैंक कारोबार गर्ने अवस्था नभएपछि तरलता कायम गर्नका लागि नेपाल राष्ट्र बैंकबाट दैनिक ३० अर्ब भन्दा धेरैको स्थायी तरलता सुविधा लिने गरेका छन् । बिहीबार मात्र बैंक वित्तीय संस्थाले साढे ३५ अर्ब रुपैयाँ बरावरको स्थायी तरलता सुविधा लिएका छन् ।
यो साताको सुरुवातीमा नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई १३ अर्ब रुपैयाँ भन्दा धेरै भुक्तानी गरेको छ । त्यसले पनि वित्तीय क्षेत्रको निक्षेप झिकिने तथा तरलता कसिलो अवस्थामा पुगेको हो । त्यसका साथै अन्य आयातको भुक्तानी तथा सरकारी भुक्तानीले पनि बैंकहरुको निक्षेप झिकिएको हुनसक्ने अनुमान बैंकहरुको छ । आगामी दिनमा सरकारले डेढ खर्ब आन्तरिक ऋण उठाउने भएकाले पनि तरलता समस्याको अवस्था सहज हुने देखिदैन ।
बैंकहरुबाट निक्षेप घटेको मात्र नभई कर्जा लगानीमा समेत नियन्त्रण भएको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रबाह रोकिएको छ । त्यस्ता बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ । यसले गर्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएसंगै बैंकिङ क्षेत्रको जटिलता झनै बढ्ने संकेत देखिएको छ ।
चालु आर्थिक वर्षको सुरुवात देखि कर्जा लगानीमा आक्रामक भएका बैंकहरुमा तरलता अभावको समस्या देखिएको थियो । बैंकहरुले कर्जा लगानीको अनुपातमा स्रोत तर्फ ध्यान नदिँदा तरलता समस्या मात्र नभई कर्जा लगानी योग्य रकमको पनि अभाव बढ्न थाल्यो ।
बैंकहरुमा माघ महिना सुरु हुनभन्दा अघिल्लो दिन ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । पछिल्लो १० दिनमा ३० अर्बले घटेर ४२ खर्ब ९४ अर्बमा झरेको छ । त्यसैगरी बैंकहरुको कर्जा पनि ४१ खर्ब ४३ अर्ब बाट ४ अर्बले मात्र बढेर ४१ खर्ब ४७ अर्ब पुगेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया