औद्योगिक प्रयोजनका सवारी साधनबाट अनावश्यक शुल्क नउठाउन मोरङ व्यापार संघको आग्रह


मोरंग व्यापार संघको नवनिर्वाचित कार्यसमितिले औद्योगिक प्रयोजनका सवारी साधनबाट विभिन्न शीर्षकमा उठाउने गरिएको शुल्क नलिन मोरङको प्रशासन तथा सुरक्षा निकायसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष नवीन रिजालसहित कार्यसमितिका पदाधिकारीहरुको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षकलाई भेटी यस्तो आग्रह गरेका हुन् ।

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट हुने गरेको अव्यवहारिक शुल्क/जरिवाना असुली कार्यबारे अवगत गराउँदै उनीहरुले त्यस्ता गतिविधिहरुको तत्कालै अन्त्य गराउन अनुरोध गरी ज्ञापन पत्र बुझाएको हो ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीका केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क/जरिवाना असुल्ने कार्य भई रहेको भन्दै संघले ध्यानाकर्षण गराएको हो ।

विराटनगर नाका मार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारी साधनहरु हाल फोरवेशगंज–जोगबनी–विराटनगर सडक खण्डको जिर्ण अवस्थाको मीरगंज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० किलोमिटर गन्तव्य तय गर्न बाध्य रहेको भन्दै संघले त्यसबाट नेपाली आयातकर्ताहरुको लागत वृद्धिको मार परिरहेको अवस्थामा नेपाली पक्षबाट समेत त्यस प्रकारका असुली गरिँदा समस्या भएकोतर्फ संघले ध्यानाकर्षण गराएको हो । संघले असुली कार्य तत्काल अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशिघ्र निर्देशन जारी गरिदिन पनि दुबै निकायका प्रमुखहरुलाई आग्रह गरेको थियो ।

मोरंग व्यापार संघमा नयाँ नेतृत्व सर्वसम्मत, नवीन रिजाल अध्यक्ष

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।