भर्चुअल ठगी बढ्दोः ६ महिना मै ३१५ नेपालीबाट पौने ७ करोड ठगी

0
Shares

अहिले विश्व प्रविधियुक्त बनेको छ, जसले नेपालीहरुमा पनि प्रविधिको पहुँच बढ्दै गएको छ । प्रविधिको सदुपयोग राम्रोसँग गर्न सकियो भने यसका राम्रा पक्षहरु थुप्रै छन् । तर यहि प्रविधिको दुरुपयोगले आज मुलुकमा धेरैका लागि प्रविधि अभिशाप जस्तै भएको छ ।

प्रविधिको विकाससँगै आजभोलि अधिकांश मानिसहरु भर्चुअल संसारमा रमाउन थालेका छन् । भर्चुअल संसार वास्तविक संसार भन्दा निकै फरक हुन्छ, अर्थात इन्टरनेटको दुनियाँ भनेको एउटा काल्पनिक दुनियाँ जस्तै हो । जहाँ सबै कुरा वास्तविक हुँदैनन् । तर पनि कतिपय मान्छे लोभ, लालच, माया प्रेम, धेरै पैसा कमाउने रहर र भर्चुअल चिनजानकै भरमा नै भर्चुअल संसारमा नै मस्त लठ्ठी रहेको हुन्छ । जसले गर्दा यहिँबाट छोटो समयमा नै आफुसँग भएको लाखौं मात्र हाेइन करोडौं रुपैयाँ गुमाउन पुगेको तथ्याङ्क प्राप्त भएकाे छ ।

चालु आर्थिक वर्षको ६ महिना समय अवधिमा ३१५ जना नेपाली अनलाइन ठगी अर्थात भर्चुअल ठगीमा परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३१५ जनाबाट ६ करोड ७३ लाख ३२ हजार २७१ रुपैयाँ ठगी भएको हो ।

महाशाखाका अनुसार उक्त ठगी चिठ्ठा परेको बहानामा ६१ जना, इसेवा तथा ओटीपी कोडबाट ४४ जना, सामान पार्सलबाट ३८ जना, अनलाइनबाट मोबाइल खरिद बिक्रीबाट २५ जना, फेसबुक आइडी ह्याक गरेर ३७ जना तथा रोजगारीका लागि विदेश पठाइदिन्छु भन्ने झुटा आश्वासन, प्रेम सम्बन्धमा पारेर उक्त समयमा खिचिएको फोटो पोष्ट गरेर जस्ता अन्य माध्यमबाट ११० जना ठगीएका छन् ।

चिठ्ठा परेको भन्दै सबैभन्दा धेरै ठगी, कुन शीर्षकमा कति ?

महानगरीय अपराध महाशाखाका सूचना अधिकारी कोइरालाका अनुसार अधिकांश ठग भारतीय नागरिक रहेका छन् ।  उनीहरुले नेपालमा भएका केही मानिसलाई रोजगारी दिने बहानामा प्रयोग गरिरहेको बताएका छन् । त्यसकारण नेपालमा नियतबस ठग भन्दा पनि उनीहरुलाई प्रयोग गरेर ठीग भइरहेको जनाइएको छ ।

नेपालमा २० देखि ३५ वर्ष उमेर समुहका मानिस भर्चुअल ठगीमा संलग्न रहेका छन् ।

ठगले चालु आवको ६ महिनामा चिठ्ठा परेको भन्दै ६१ जनाबाट सबैभन्दा धेरै १ करोड ३० लाख ८२ हजार २२२ रुपैयाँ ठगी भएको हो । यो कुल ठगी रकम ६ करोड ७३ लाखको १९.४३ प्रतिशत हो ।

यस्तै यस अवधिमा ओटीपी कोड/इसेवाबाट ४४ जनालाई ९८ लाख ५९ हजार ५८६ रुपैयाँ, सामान पार्सलको बहानामा ३८ जनाबाट ५४ लाख ६० हजार ३७८ रुपैयाँ, अनलाइन मोबाइल खरिदको नाममा २५ जनाबाट २७ लाख २१ हजार ८०० रुपैयाँ बराबरको ठगी भएको छ ।
यसैगरी फेसबुक खाता ह्याक गरेर ३७ जनाबाट १७ लाख ७२ हजार ५१० रुपैयाँ र अन्य ११० जनाबाट ३ करोड ४४ लाख ३५ हजार ७७५ रुपैयाँ ठगी भएको महाशाखाको तथ्याङ्क छ ।

बैंकिङ कारोबारको गोपनीयताबारे जानकारी नहुँदा ठगी गर्नेहरूको संख्या व्यापक

महाशाखाका सूचना अधिकारी कृष्ण प्रसाद कोइराला बैंकिङ कारोबारको गोपनीयता जस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको संख्या व्यापक बढेको बताउँछन् ।

उनका अनुसार चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै बढ्न थालेका छन् ।

यस्तै परिचय चोरी, कुनै बैंक तथा डिजिटल वालेटको नक्कली कर्मचारी, भर्चुअल मित्रता र कसैले विवाह गरेर नयाँ संसार बनाउने सपना देखाएर पनि ठग्ने गरिएको पाइएको उनको भनाई छ । यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार तथा बढी लोभ गर्ने र चाँडै विश्वास गर्ने मानिसहरु पीडित हुने देखिएको कोइरालाले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ माघ २०७८, बुधबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।