.png)
ग्रीनलाइन सेन्टरका मालिक बेपत्ता भएको करिब एक महिना बितिसक्दा पनि उनी विरुद्ध प्रहरीमा कुनै पनि उजुरी परेको छैन ।
विभिन्न संस्था तथा व्यक्तिसँंग अर्बौं ऋण लिएका ओमप्रकाश अग्रवाल उक्त कर्जा तिर्न नसक्ने भन्दै बेपत्ता हुँदा पनि साहु संस्था तथा व्यक्ति सहयोग माग्दै प्रहरी समक्ष नपुगेका हुन् ।
काठमाडौंको कान्तिपथमा करिब २५ वर्षदेखि विदेशी मदिराको कारोबार गर्दै आएका अग्रवाल गत पुस २२ गतेबाट बेपत्ता छन् । प्रहरीका अनुसार अग्रवाल परिवारका ९ जना सदस्य आजसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले फेला पार्न नसकेका अग्रवाल परिवाका सदस्यहरुमा ओमप्रकाश, अमित, अभिषेक, भारती, उषा, रुचिका अग्रवाल, १७ वर्षीय नातिनी नन्दनी अग्रवाल, ९ वर्षीय पार्था अग्रवाल र २ वर्षीय अनव अग्रवाल छन् ।
अग्रवाल परिवारको नाममा एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक र ग्लोबल आईएमई बैंक गरी चारवटा बैंकबाट मात्रै ८० करोड रुपैयाँभन्दा बढीको ऋण छ । औपचारिक रुपमा कानुनी उपचार मार्फत ऋण असुली गर्न सकिने कर्जा ८० करोड रुपैयाँ मात्र देखिन्छ । यो कर्जाको असुलीका लागि बैंकहरुले आ– आफ्नो तर्फबाट असुली प्रक्रिया अघि बढाइसकेको अवस्था छ ।
तर, अन्य व्यक्ति तथा संस्थाबाट लिएको ऋणको ब्याज तिर्न नसकेको भन्दै अग्रवाल आफैँले उल्लेख गरेपनि त्यस्ता ऋणको सन्दर्भमा भने हालसम्म प्रहरीमा ठगीको कुनै पनि उजुरी परेको छैन । अग्रवाल परिवारको ठगीको सन्दर्भमा कुनै पनि उजुरी प्रहरीकोमा नआउँदा अनुसन्धान प्रक्रिया समेत जटील बनेको छ । अग्रवाल परिवारले बैंक वित्तीय संस्थाको ८० करोड सहित अन्य व्यक्ति तथा संस्थाबाट पनि कर्जा लिएको भएपनि इस्तो ऋण कति छ भन्ने यकिन हुन सकेको छैन । अग्रवाल परिवारले व्यक्ति तथा संस्थाबाट गरी अर्बौ रकममा कर्जा लिएको देखिन्छ ।
प्रहरीले ओमप्रकाशको ज्ञानेश्वर स्थित निवासमा भेटेको पत्रमा कोभिड १९ का कारणले गर्दा आफ्नो कारोबार सुस्ताएको तथा बैंक र मिटर व्याजीबाट लिएको ऋण तिर्न नसकेको स्वीकार गरेका छन् । मिटर ब्याजीबाट लिएको ऋण तिर्दा आफ्नो सम्पत्ति सिद्धिएको पत्रमा उल्लेख छ ।

अग्रवाललाई ऋण दिने बैंकहरुमा मात्र नभई अन्य व्यक्ति तथा संस्थाहरुपनि रहेको उनको पत्रबाट पनि स्पष्ट हुन्छ । अग्रवालले बेपत्ता हुँदा घरमा छाडेको पत्रमा आफुहरुसँग बैंक र मिटर ब्याजीलाई तिर्नको लागि कुनैपनि प्रकारको साधन नभएको उल्लेख गरेका छन् । उनले पत्रमा बैंकले पुस २१ मा ग्रीनलाइनको स्टोरमा ताला लगाइदिएपछि मिटर ब्याजीलाई समेत तिर्ने पैसा नभएको र मिटरब्याजीले दिएको धम्की र बैंकको असहयोगले गर्दा मानसिक अवस्थाका कारण काठमाडौं छाड्न बाध्य भएको उल्लेख छ ।
तर, उनी बेपत्ता भएको एक पहिना बितिसक्दा पनि मिटरब्याजीहरु उनी बेपत्ता भएको थाहा नै नपाएको जस्तो गरी चुपचाप बसेका छन् । अग्रवालबाट अर्बौं रकम असुल गर्नुपर्ने भएपनि मिटरव्याजीले प्रहरी समक्ष गएर आजको मितिसम्म ठगीको उजुरी गरेका छैनन् ।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले अग्रवाल विरुद्ध आजसम्म पनि कसैको उजुरी नआएको बताए । “पीडितलाई न्याय र पीडकलाई सजाय दिन प्रहरी लागि रहेको छ,” उनले भने, “तर अहिलेसम्म अग्रवाल विरुद्ध कुनै उजुरी आएको छैन ।” नेपालमा मिटरव्याज कारोबार गैरकानुनी हो । मिटरब्याज लगाउनेलाई ठगी मुद्धाबाट कारबाही भएमा मुलुकी अपराध संहिता, २०७४ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया