
विश्व अर्थतन्त्रलाई नै चुनौति दिने गरी अघि बढेको क्रिप्टो करेन्सी अर्थात् डिजिटल मुद्राको कारोबार नेपालमा प्रतिबन्धित छ । यसको कारोबारमा प्रयोग हुने विदेशी मुद्राको कारणले मात्र गैरकानुनी घोषणा गरिएको देखिन्छ ।
क्रिप्टो करेन्सी कारोबारीलाई गरिने सजायको सन्दर्भमा पनि विदेशी विनिमयको अपचलन गरेको भनेर कारबाही तथा जरिवाना गर्ने गरिएको छ । क्रिप्टो कारोबार गरेको कसुरमा २०७८ असोज १३ गते काठमार्डौ जिल्ला अदालतले फैसला गर्दै कारोबारमा संलग्न ५ जनालाई आर्थिक जरिवानाको मात्र सजाय कायम गरेको थियो । यो फैसला पनि विदेशी मुद्राको अवैध कारोबार गर्दा नेपाल राष्ट्र बैंक ऐन २०५८ र विदेशी विनिमय ऐन २०१९ अनुसार सजाँय निर्धारण गरिएको छ ।
गैरकानुनी भन्दै आइरहेको भएपनि क्रिप्टो करेन्सीको कारोबारलाई भने निश्चित कानुनी व्यवस्था भने हालसम्म पनि गरिएको छैन । पछिल्लो समयमा विदेशी विनिमय सञ्चितिमा आएको गिरावट तथा रेमिट्यान्स आप्रवाहमा कमी आउन थालेपछि केही समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिप्टो कारोबार गर्ने डिभाइस बरामद भएपछि माघ ९ गते नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै क्रिप्टोको कारोबार गैरकानुनी रहेको सूचना जारी गरेको थियो । राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाका आधारमा गैरकानुनी मानिएको क्रिप्टोको कारोबारलाई अदालतले पनि नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनिमय सम्बन्धि ऐन मार्फत फैसला गरेको देखिन्छ ।
क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारबाही गरिएको उदाहरण भने एउटा मात्र छ । पहिलो पटक विसं २०७४ सालमा प्रहरी नायव उपरीक्षक श्याम बाबु ओलियाको नेतृत्वको टोलीले क्रिप्टो कारोबारमा संलग्न १० जनालाई हिरासतमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका ती १० जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । यीनै १० मध्येका एक प्रशान्त प्रताप शाहले बिटकोइन एक्सचेन्ज नेपाल भन्ने फेसबुक पेज बनाई बिटकोइन सम्बन्धी जानकारी दिने गरेको प्रहरीको अध्ययनले देखाएको छ । विसं २०७४ सालमा प्रहरीले गरेको खानतलासीमा क्रिप्टो माइनिङ्ग गर्ने डिभाइस र क्रिप्टो कारोबार गरेको विवरण प्राप्त भएको र प्रतिवादीको बयानमा बिटकोइन कारोबार तथा माइनिङ गरेको प्रमाणित भएको थियो ।
अधिकांशलाई नौलो लागेको यो प्रकृतिको अपराध, नौलो भने होइन । क्रिप्टो कारोबार गरेको अरोपमा नेपाल प्रहरीले विसं २०७४ मा नियन्त्रणमा लिएका १० व्यक्तिहरुको सन्दर्भमा काठमाडौं जिल्ला अदालतले सजाय दिएको थियो । क्रिप्टोको कारोबार सम्बन्धि पहिलो पटक दर्ता भएको मुद्दाको सुनुवाइ हुने क्रममा प्रहरीले पेश गरेका प्रमाण, तथ्य, विवरण तथा विश्लेषणलाई आधार मानी अदालतले प्रतिवादी प्रशान्त प्रताप शाह, बिन्दु ढकाल, मनिष कुमार राई, माधव खनाल र ज्ञान प्रसाद पौडेललाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिमको कसुर ठहर गरेको थियो । तर अभियुक्त संजय खनाल, विश्व विक्रम राई, सौगात कुमार वाग्ले, मिङ्गमार तामाङ्ग र दमन बस्नेतको कसुर प्रमाणिकरण नभएका कारण सफाइ दिएको थियो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिमको कसुर गर्ने व्यक्तिहरुलाई सोही ऐनको दफा ९६ मा भएको व्यवस्था अनुसार कसुरसँग सम्बन्धित बिगो जफत हुने गरी बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्ष सम्म कैद वा दुवै सजाय हुने सक्ने व्यवस्था छ । बिगो कायम गर्न नसकिने अवस्था भएमा कसुरको मात्रा हेरि बढीमा १० लाख सम्म जरिवाना वा तीन वर्ष सजाय गर्न सकिने व्यवस्था छ ।
सो फैसला अनुसार बयानका क्रममा कसुरदार प्रशान्त प्रताप शाहले नेपाली रुपैयाँ ३०/३५ लाख बराबरको कारोबार गरेकोले उनलाई ३० लाख रुपैयाँ बिगो बराबरको आर्थिक जरिवाना गरिएको उल्लेख छ । त्यसैगरी कसुरदार ज्ञान प्रसाद पौडेलले ६ हजार अमेरिकी डलरको कारोबार गरेको हुँदा तत्कालीन विदेशी विनिमय दर १०४.५० रहेको हुँदा नेपाली रुपैयाँ ६ लाख २७ हजार हुन गएकाले ६ लाख जरिवाना गरिएको थियो । अर्का कसुरवार मनिष कुमार गिरीले ११ हजार ४९५ को कारोबार गरेको भनी बयान दिएको हुँदा ११ हजार जरिवाना गरिएको थियो भने बिन्दु ढकालले १६÷१७ सय डलरको कारोबार गरेको बयान दिएकाले उनलाई ६२ हजार ५०० जरिवाना गरिएको थियो ।
सोही समुहका अर्का कसुरदार मानिएका माधव खनालले ५ सय डलरको कारोबार गरेको र ज्ञान प्रसाद पौडेलबाट ५०० डलरको बिटकोइन किनेको बयान दिएकोले १ लाख १४ हजार ७५० रुपैयाँ जरिवाना गरेको ।
अदालतले सो फैसलामा कसुरदारहरुलाई गरिएको आर्थिक जरिवानाको सन्दर्भमा स्पष्टिकरण समेत दिएको छ । क्रिप्टोकरेन्सी कसुरवारलाई सजाय दिँदा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९६ बमोजिम बिगोको तीन दोब्बर हुनुपर्ने थियो । तर, प्रतिवादीहरु पटके कसुरदार नभएको र पेसा, उमेर एवं आर्थिक अवस्था अनुसार बिगो बराबर जरिवाना गर्दा कानुनमा उल्लेखित व्यवस्थाको मकसद पूरा हुने उल्लेख गरेको थियो । नेपालको इतिहासमा यो नै पहिलोे पटक क्रिप्टो कारोबारीलाई आर्थिक जरिवाना हो ।
पछिल्लो समयमा क्रिप्टो कारोबारीहरु पक्राउ पर्ने क्रम बढ्दै गएको छ । केही महिना अघि मात्र ३७ करोड बिगो दाबी गर्दै कैलालीका दिनेश खड्का सहित चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ । त्यसैगरी बुधबार मात्र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्यूरोडबाट ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएपछि नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो । यी क्रिप्टो कारोबारीहरुलाई पनि दिइने सजायको प्रकृति भने विगतको नजिर भन्दा फरक हुन्छ वा हुँदैन भन्ने हेर्नका लागि अदालतको फैसला नै पर्खनुपर्ने हुन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया