नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकैदिन सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ पुगको छ ।
यस्तै तेजावी सुनको भाउ पनि सोही अनुसार बढेर १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ पुगेको छ ।
आइतबारका छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ र चाँदीको १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार रुपैयाँ तथा चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
साेमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८९ डलर तथा चाँदी प्रतिऔंस २५.९० डलर आसपासमा कारोबार भैरहेको छ । हिजो आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७० डलर तथा चाँदी प्रतिऔंस २५.७३ डलरमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार-चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
सुनको मूल्य घट्न पेट्रोलियम पदार्थको मूल्य घट्नुपर्ने
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले सुनको भाउ अझै बढ्न सक्ने सुनचाँदी व्यवसायीहरु बताउँछन् । रुस युक्रेन युद्धमा अमेरिकादेखि अन्य राष्ट्रहरुको समेत प्रतक्ष्य-अप्रतक्ष्य संलग्नताका कारण विश्व बजारका लगानीकर्ता तथा व्यवसायीहरूले सुनमा लगानी बढाएका छन् ।
यस्तो समयमा विश्व बजारका लगानीकर्ताहरुले उद्योगधन्दामा भन्दा सुनजस्ता सम्पत्ति किनेर राख्न हिसाबले लगानी केन्द्रित गर्ने गरेका छन् । यसाे हुँदा पनि सुनको भाउ बढ्न मद्दत्त पुगेको छ । लगानीका हिसाबले सुनलाई अन्य क्षेत्रभन्दा सुरक्षित माध्यम मानिन्छ । त्यसैले उनीहरू आफूसँग भएको पैसा अन्य क्षेत्रमा लगानी नगरी सुन जस्ता धातुजन्य वस्तुहरुमा लगानी बढाउउने हुँदा बजारमा सुनको माग अझै बढ्छ । अर्थशास्त्रको सिद्धान्त अनुसार जतिजति माग बढ्छ त्यति त्यति मूल्य बढ्ने भएकाले सुनको भाउ पनि अस्वाभाविक रूपमा बढ्न जाने व्यवसायीहरुको भनाई छ ।
यस्तै खानीबाट निकालिने सुन प्रशोधन क्रममा अत्यधिक मात्रामा पेट्रोलियम पदार्थको प्रयोग हुने र पेट्रोलको भाउ जुन रुपमा बढ्छ सोही अनुपातमा सुनको लागत बढ्ने हुँदा सुनको भाउ पनि महङ्गिने व्यवसायीहरु बताउँछन् । त्यसैले दुई देशको लडाइँको प्रभाव विश्व बजारमा नै पर्ने गरेको छ ।
कोरोना महामारीदेखि बढ्न सुरू गरेको सुनको मूल्य भ्याक्सिन निमार्णको क्रमसँगै महामारीको प्रकोप घट्न थालेपछि सुनको भाउ घट्दै जाँदा ९० हजार हाराहारीमा झरेको थियो । तर रुस युक्रेनबीच लडाइँ चलिरहँदा पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य खाद्यान्न तेलसम्मको मूल्य बढिरहेको अवस्था छ ।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने तेस्रो ठूला देश रूसले तेल उत्पादन घटाएको छ भने उत्पादित तेल पनि युक्रेन आक्रमणका लागि सञ्चिति र प्रयोग गरेको विद्यमान अवस्था छ । यसले पनि पेट्रोलियमम पदार्थको भाउ बढाउन मद्दत्त पुगेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न नथाल्दासम्म सुनको भाउ घट्ने कठिन हुने व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार सुनको मूल्य घट्न पेट्रोलियम पदार्थको पनि मूल्य घट्नै पर्छ ।
बाह्र दिनअघि अर्थात फागुन १२ गते बुधबार रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि सुनको भाउ उकालो लाग्न थालेको थियो । गत वर्ष सुन इतिहासमै पहिलो पटक तोलाको १ लाख ३ हजार ५०० रूपैयाँसम्म पुगेको रेकर्ड कायम छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया