सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपालको इतिहासमा बुधबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ कायम गरिएको छ ।
यो मूल्य नेपालको इतिहासमा हालसम्मकै उच्च मूल्य हो ।
यसअघि २०७७ साउन २३ गते सुनको भाउमा सबैभन्दा उच्च मूल्यको रेकर्ड कायम रहेको थियो । उक्त दिन कारोबार भएको सुनको मूल्यको रेकर्डलाई तोड्दै आज नयाँ रेकर्ड कायम भएको हो । उक्त दिनभन्दा बुधबार कायम भएको सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढी हो । २०७७ साउन २३ गते छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
हिजो मंगलबारको तुलनामा सुनको मूल्य बुधबार तोलामा २ हजार ५०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजावी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनसंगै चाँदीको मूलय पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
एक लाख १० हजार रुपैयाँसम्म पुग्ने सम्भावना
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा त्यसको असर नेपालमा पनि परेको महासंघका महासचिव धर्म रत्न बज्रचार्य बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएपछि त्यसको असर परेको हो’ उनले नोटबजारलाई भने ।
‘जब सम्म युक्रेन र रसियाको द्धन्द्ध बन्द हुँदैन, त्यसले सुनको मूल्यमा असर पर्छ’ बज्राचार्यले भने, “अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा सेयर बजार लगायत क्षेत्रहरुमा जोखिम बढ्ने भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको हो ।”
यस्तै बज्रचार्यले सुनको मूल्य अझै बढ्ने सम्भावना भएकाले सुन किन्ने उपभोक्तालाई केही समय धैर्य गर्ने आग्रह गरेका छन् । बज्राचार्यले सुनको मूलय अझै बढ्ने बताएका छन् । “अन्तर्राष्ट्रिय विज्ञहरुका अनुसार एक लाख १० हजार रुपैयाँसम्म पुग्ने सम्भावना त देखिन्छ । ”
बज्राचार्यले भने “युद्ध अझै बढ्यो भने एक लाख १० हजार भन्दा पनि बढी हुन्छ । होइन भरे भोलि नै युद्ध विराम हुने भो भने चाँही भाउ घट्न पनि सक्छ ।”
यस्तै अहिले सुनको मूल्य बढ्दा केही दिन देखि नेपाली बजारमा माग भने शुन्य जस्तै रहेको छ । बज्रचार्यका अनुसार मूल्य अत्याधिक बढेपछि तीन चार दिनदेखि नेपाली बजारमा सुनको माग शून्यमा झरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया