माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् उपकरण जडान सुरु

0
Shares

दुई अर्ब ६४ करोड रुपैयाँको लागतमा उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युतगृहको उपकरण जडान गर्ने काम सुरुआत भएको छ ।

आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४ दशमलव आठ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक उपकरण दोङ्फाङ नामक चिनियाँ ठेकेदार कम्पनीले जडान गरिरहेको हो ।

कार्यस्थलमा १० चिनियाँ समेत २५ दक्ष प्राविधिक जनशक्ति परिचालन भइरहेको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुनिल ढुङ्गेलले जानकारी दिए। सो आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण जडान सम्पन्न गरी परीक्षण गर्ने लक्ष्य राखिएको बताइएको छ ।

केही दिन अगाडि विद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका नेपाल विद्युत् प्राधिकरणका नायब कार्यकारी प्रमुख माधव कोइरालाले माथिल्लो तथा तल्लो साञ्जेन दुबै स्थानको उपकरण जडान कार्य सन्तोषजनक तवरले अगाडि बढिरहेको जानकारी दिए ।

यस्तै ४२.५० मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युतगृहमा समेत एउटै प्राविधिक समूहले आलोपालो उपकरण जडान गरिरहेको बताइएको छ ।

कोभिड सङ्क्रमणको कारण दर्शाउँदै उपकरण जडानको जिम्मा लिने चिनियाँ ठेकेदार कम्पनी कार्यस्थलमा ढिलै पुगे पनि निरन्तर काम भइरहँदा तल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्षमा विद्युत् उत्पादन गर्न सकिने अपेक्षा गरिएको आयोजनाका प्राविधिकहरूले बताएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत मङ्सिर ११ गते गर्नुभएको रसुवा भ्रमणबाट उपकरण जडानमा ठूलो मद्दत पुगेको छ ।उपकरण जडानअन्तर्गत साञ्जेनको जिम्मा पाएको दोङ्फाङ चिनियाँ र रसुवागढीको जिम्मा लिने भारतीय कम्पनी भोइथलाई कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै कारबाहीको सङ्केत दिएपछि आवश्यक जनशक्ति कार्यस्थलमा छिट्टै फर्केको प्राविधिकहरूले बताएका छन् ।

सन् २०१३ बाट सुरु भएको साञ्जेन जलविद्युत् आयोजनामा पटक–पटक प्रमुख फेरबदल भइरहनु, सुरूङ निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनीप्रति निरन्तररूपमा लगनशील गराउन नसक्नुजस्ता कारण निर्माणमा ढिलाइ भएको र आयोजनाले पूँजीवापत लिएका ऋणको ब्याजसमेत बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

यस्तै टिमुरे र थुमनको आधार इलाकामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादनका उपकरण जडान भइरहेको छ । एक वर्षभित्र उपकरण जडान गरी विद्युत् उत्पादन गराउने अठोटका साथ तीव्ररूपमा काम भइरहेको हो । कामको जिम्मा पाएको भारतीय भोइथ कम्पनीले दैनिक ५० भन्दा बढी दक्ष कामदारबाट काम अगाडि बढाइरहेको सो आयोजनाले जनाएको छ ।

विसं २०६० मा पहिलोपटक २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना निर्माण गरेपश्चात् प्राप्त अनुभवका आधारमा ती प्राविधिकले साञ्जेन र रसुवागढी क्षेत्रलाई अध्यायन गरी विद्युत् प्राधिकरणका प्राविधिक अगाडि बढेका बताइएको छ । साञ्जेनतर्फका दुई विद्युत्गृह खुला स्थानमा छ भने रसुवागढीको सम्पूर्ण संरचना भूमिगतरूपमा रहेको छ ।

कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋणबाट ब्याज समेत २ अर्ब ६४ करोड रुपैयाँको लागतमा पहिलो चरण अन्तर्गत २० मेगावाट क्षमतामा उत्पादित बिजुली तत्कालीन समयमा कुलमान घिसिङ चिलिमे कम्पनीको प्रबन्ध निर्देशक हुँदा दुई मेगावाटको स्तरवृद्वि गराइ २२ मेगावाट क्षमतामा कायम गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

चिलिमेको संरचना भूमिगत भएको छ । भूमिगत संरचनाबाट निर्माण गर्दा बाढी, पहिरो, भूक्षय, चट्याङ तथा भूकम्पले कुनै असर नगर्ने प्रमाणित भइसकेको छ । विसं २०७२ को भूकम्पले असर नगरेको प्राविधिकहरू बताउँछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।