चन्द्र ढकालको सेयर बजार सञ्जाल, धितोपत्र किनबेचदेखि नीति निर्माण तहसम्मको उपस्थिति कति ठीक ?


आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल पछिल्लो समय धितोपत्र बजारमा आफ्नो सन्जाल विस्तार गर्नेमा केन्द्रित छन् । धितोपत्र बजारको नियामक निकायमा समेत रहिसकेका ढकाल सञ्जाल विस्तारको खबर छताछुल्ल भएपछि बाहिरिएका थिए । त्यसपछि पनि धितोपत्र बजारसँग सम्बन्धित प्रविधिलाई समेत आफू मातहत ल्याउन ढकालले हरतरहको प्रयास गरिरहेका छन् ।

धितोपत्र बोर्डमा बसेका ढकाल नीति निमार्णमा समेत प्रत्यक्ष सहभागी भए । त्यसपछि उनले धितोपत्र बजारको प्रविधिमा हात हाले । ढकालले सूचीकृत कम्पनी, ब्रोकर तथा इन्भेष्टमेन्ट कम्पनी समेत सञ्चालन गर्दे आएका छन् । कुनै एक व्यवसायीले संस्थागत, नीतिगत र प्रविधिक रुपमा धितोपत्र बजारलाई नियन्त्रणमा लिन खोज्नु भनेको समग्र बजारको हीत विपरित देखिन्छ ।

आधा दर्जन भन्दा धेरै इन्भेष्टमेन्ट कम्पनीहरु मार्फत धितोपत्र किनबेचमा सक्रिय ढकालले पछिल्लो समयमा कारोबार व्यवस्थापन प्राणाली र ब्रोकर ब्याक अफिसलाई पनि आफ्नो नियन्त्रणमा ल्याइसकेका छन् । ढकाल नै अध्यक्ष रहेको ग्लोबल आइएमई बैंक धितोपत्र कारोबार राफसाफ बैंकको रुपमा रहेको छ ।

सेयर बजार कब्जा गर्ने आइएमईको रणनीतिमा अर्थको चासो, अध्ययन गरी कारबाही गर्न निर्देशन

ढकालले केही महिना अघि मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालिसँग मिलेर सेयर बजारसँग सम्बन्धित प्रविधि कम्पनीमा लगानी गरेका थिए । वाइको प्रालिसँग मिलेर ढकालले आफ्नो बहुमत सेयरमा खोलेको वाइको सोलुसन प्रालि मार्फत पहिले नै वाइको प्रालिले डेभलप गरेको नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को सञ्चालन तथा व्यवस्थापन गर्न थाले । त्यसमा धितोपत्र दलाल कम्पनीहरुले विरोध गरेपछि विल बिजक भने वाइको प्रालिले नै जारी गर्दै आएको छ ।

कारोबार व्यवस्थापन प्रणालीमा प्रवेश गरेको केही महिनापछि नै उनले अप्रत्यक्ष रुपमा धितोपत्र ब्याक अफिसको सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनी क्यापिटल मार्केट एण्ड टेक्नोलोजीलाई खरिद गरे । त्यसपछि उनले धितोपत्र दलाल कम्पनीले चलाउने कारोबार व्यवस्थापन प्रणाली र ब्रोकर अफिस सोलुसन सीस्टम (बोस) मा समेत आफ्नो पहुँच विस्तार गरेका हुन् ।

उनी अध्यक्ष भएको आइएमई समुहको प्रत्यक्ष लगानी रहेका आधा दर्जन कम्पनी धितोपत्रको दोस्रो बजारमा सूचीकृत छन् । सूचीकृत कम्पनीहरु मध्ये ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, हिमालयन पावर पार्टनर र माउन्टेन इनर्जी लिमिटेड रहेका छन् । अप्रत्यक्ष रुपमा उनी जोडिएका सूचीकृत कम्पनीको संख्या दर्जन भन्दा धेरै छन् ।

त्यसैगरी आइएमई समुह अन्तर्गत मर्चेन्ट बैंकरको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने २ वटा धितोपत्र ब्रोकर रहेका छन् । धितोपत्र बजारका हरेक पक्षमा बलियो उपस्थिति रहेको आइएमई समुहले आधा दर्जन भन्दा धेरै इन्भेष्टमेन्ट कम्पनी मार्फत धितोपत्रको खरिद बिक्री गर्दै आएको छ । आइएमई समुह अन्तर्गतका मुख्य इन्भेष्टमेन्ट कम्पनीहरुमा कामधेनु, उषा, निमिसा, हाथवे, आइएमई, आइएमई होल्डिङस् लगायत रहेका छन् । त्यति मात्र नभई पछिल्लो समय डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेलाई पनि सेयर कारोबारमा सहभागी गराउने काम ढकालले गरिरहेका छन् ।

ब्रोकर, मर्चेण्ट बैंकर, योग्य संस्थागत लगानीकर्ता हुँदै बजार सम्बद्ध प्रविधिका सबै तहमा पहुँच विस्तार गरिसकेका ढकाललाई पछिल्लाे समय केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता र वाईको प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानले सघाउँदै आएका छन् । यस दौरान धितोपत्र बजारमा आइएमई समुहको सिधा पहुँच नभएको ठाउँ भनेको नेप्सेको अनलाइन कारोबार प्रणालीमा मात्र हो ।

धितोपत्र बजारमा कुनै एक समुहको नियन्त्रण बढ्दै गएको भन्ने सन्दर्भमा धितोपत्र बजारका नियामक निकायले छानबिन तथा अनुसन्धान गर्नुपर्ने इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल बताउँछन् । उनी भन्छन्, “कुनै एक समुहका कारण आम लगानीकर्ता मारमा पर्नु त भएन नि,” उनले थपे, “कारोबार व्यवस्थापन प्रणाली चुस्त दुरुस्त चल्नु पर्याे भन्ने हाम्रो माग हो ।” बजारसँग सम्बन्धित काम गर्नका लागि अनुमति पनि नियामक निकायले नै दिएको हुनाले यसबाट बजारमा पर्न सक्ने नकारात्मक पक्षको सन्दर्भमा पनि नियामक निकायले नै हेर्नुपर्ने फाेरम अध्यक्ष ढकालको भनाई छ ।

धितोपत्र बजारमा सक्रिय रुपमा लगानी गर्दै आएको कुनै व्यवसायीक समुहले बजारका हरेक क्षेत्रमा सहभागिता जनाउँदा स्वार्थ बाझिने बजार विश्लेषक हेमन्त बस्यालको बुझाई छ । “धितोपत्र बजारमा अस्थितरता ल्याउने तथा अस्वभाविक म्यानुपुलेसन हुनुमा यस्तो प्रवृत्ति पनि एक हो,” उनले भने, “यसका लागि उपयुक्त कानुनी आधार नै तयार गर्नुपर्ने हुन्छ ।”

सम्बन्धित थप शीर्षकहरु:

ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।