
रौतहट जिल्लाको उत्तरपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल नुनथर तराइका पर्यटककाे क्षेत्रमध्ये निकै रोजाइमा पर्ने एक थलाे हो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ रहेको नुनथरलाई मधेश प्रदेशकै चर्चित पर्यटकीय स्थान मानिने गरिएको छ । पूर्व पश्चिम राजमार्गको वागमती खण्डबाट करिब २ किलोमिटर उत्तर हिँडेपछि यो ठाउँमा पुग्न सकिन्छ ।

नुनथरमा अन्य दिनहरुमा भन्दा शनिबार पर्यटकहरुको व्यापक घुइँचो हुने गरेको छ । हिजोआज शनिबारको दिन पिकनिक खान र घुम्न रौतहट जिल्लाका मात्र नभएर छिमेकी जिल्ला सर्लाही लगायत बारा, पर्सा, मकवानपुर, महोत्तरी, धनुषा, सिन्धुली जिल्लाहरुका मानिसहरु आउने गरेका छन् ।
यस क्षेत्रमा जाडो महिनामा विशेष गरि पिकनिक र घुमघामका लागि, विवाह तथा ब्रतबन्धको साइतमा विवाह तथा ब्रतवन्धका लागि र साउन महिनामा शिव दर्शनका लागि मानिसहरु आउने गरेका छन् ।

साउन महिनाको सोमबार नेपालका विभिन्न जिल्ला र भारतका पनि विभिन्न स्थानबाट जल लिन बोलबम आउने गर्दछन् । वागमती नदी छेउमा अवस्थित रहेको नुनथर रहेको हुनाले हिन्दु भक्तजनहरुको विशेष स्थानका रुपमा पनि रहेको छ ।
यस स्थानको बागमती नदिबाट पवित्र जल भरेर नुनथर महादेवको पुजा गरि सो पवित्र जल बोकी बारा जिल्लाको काटघाट महादेव मन्दिर, सर्लाहीको टुटेश्वर महादेव तथा रौतहटकै अर्को धार्मिक स्थल शिवनगरसम्म पुगेर पुजा गर्ने प्रचलन रहेको छ ।

साथै नेपाली तथा अंग्रजी नयाँ वर्ष, फागु पूर्णिमा लगायत पर्वहरुमा पनि पर्यटकको घुइँचो लाग्ने गरेको छ । नुनथर छिमेकी जिल्ला सर्लाहीको साँधमा रहेको छ । अर्थात वारी रौतहट पारी सर्लाही । बीचमा वागमती खोलाले साँध छुट्याएको छ ।
वागमती खोलामा एउटा झोलुङे पुल र बाँकी अन्य दुई पुलहरु रहेका छन् । यी पुलहरुले पनि पर्यटकलाई थप आकर्षण थपिदिएको छ । स्थानीयहरुका अनुसार यस क्षेत्रलाई नजिकको पहाड पनि भन्ने गरिन्छ ।


लेन्सः अन्जना सुवेदी
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया