लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध सवा ४ करोडको भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकामा विद्युतीकरणका क्रममा विद्युतीय सामानहरु खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफू अनुकुलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई ४ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा अध्यक्ष खड्काविरुद्ध बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अध्यक्ष खड्काका अलावा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापालहरू तथा विभिन्न उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारी गरी २७ जनालाई विपक्षी बनाइएको छ ।

अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो कायम गरिएको छ । त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ र तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३ बिगो कायम गरिएको छ ।

त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुवाँ, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगरविरुद्ध ३५ लाख २ हजार ६१४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्काे उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिश्मा परियार र सचिव दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार ९०२ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध ४२ लाख ३५ हजार ६८६ रुपैयाँ बिगो कायम गरिएको छ ।पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध ४२ लाख ३५ हजार ६८६ रुपैयाँ बिगो कायम गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।