हिमालयन हाइड्रो एक्स्पो सेमिनारः उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई


ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्वपूर्ण सुझाव दिएका छन् । तीनदिने एक्सपोको पहिलो दिन का तीन विभिन्न सत्रमा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय सरोकारवालाले नयाँ प्रविधि उपयोगितादेखि नीतिगत व्यवस्थामा सुझाव दिएका हुन् ।

नेपालले हालसम्म खासै नीतिगत व्यवस्था गर्न नसकेको हाईड्रोजन उत्पादनका क्षेत्रलाई नयाँ ढँगले व्यवस्थित गर्न सुझाइएको छ । बेलायत सरकारको डिपार्टमेन्ट फर इन्टरनेसनल ट्रेडको नविकरणीय ऊर्जाका वरिष्ठ सल्लाहकार मिलिन्द गोडबोले नेपालमा जलविद्युत आयोजना प्रवद्र्धकहरुलाई आफैं हाईड्रोजनको व्यवसायिक उत्पादनमा सकृयता देखाउन आग्रह गरे ।

विश्वमा खनिज इन्धनबाट हाईड्रोजन उत्पादन भइरहेको तर त्यो प्रवृतिलाई नेपालले विद्युत्को प्रयोगबाट उत्पादन गरेर व्यवसायक निर्यातसमेत गर्न सकिने अवसर रहेको उनको भनाई थियो । ‘जलविद्युत् प्रवर्दकले हाईड्रोजन उत्पादनलाई विकल्पभन्दा पनि जलविद्युत् प्रणालीमै अन्तरआवद्ध गर्ने अवसर छ,’ उनले भने, ‘वर्षातको बढी भएको विजुली हाईड्रोजन बनाउन खपत गर्दा बहुआयामिक लाभ हुनेछ’ । नेपालमा धेरै सिमेन्ट उद्योग र स्टील उद्योग भएकाले उनीहरुले हरित हाईड्रोजन प्रतिक्षा गरिरहेको उनले उल्लेख गरे । औद्योगिक खपतको सम्भावना भएको भन्दै इलोक्टोलाईजरबाट हाईजन उत्पादन गर्न सक्दा कार्वन उत्सर्जन कम गरेर नेपालले लाभ ग्रहण गर्न सक्ने उनको भनाई थियो । उनले जलविद्युत् मात्रै नभएर सौर्य ऊर्जालाई पनि इलेक्ट्रोलाईसिस पद्धतिमा खपत गरेर हाईड्रोजन उत्पादन गर्ने अवसर रहेको उल्लेख गरेका थिए । ग्रिन फाइनान्सको अवधारणालाई यसमा आवद्ध गर्दा वित्तीय लगानी प्राप्त हुने अवसर रहेको पनि उनले बताए ।

जलविद्युत्मा नयाँ प्राविधिसम्बन्धी सत्रमा कार्यपत्र कार्यपत्र प्रस्तुत गर्दै जर्मन कम्पनी फिचन हाईड्रोपावरका वरिष्ठ अधिकारी निकोलस इप्थाईमोले हिमालयन क्षेत्रका जलविद्युत् आयोजनामा सेडिमेन्ट व्यवस्थापन भरपर्दो बनाउन चुस्त इन्जिनियरिङ र अवलोकनमा बढी ध्यान दिनुपर्ने सुझाव प्रवर्दकलाई दिए । उनले भने, ‘सेडिमेन्ट व्यवस्थापन उचित हुन नसक्दा टर्बाइनको क्षमतासम्म प्रभावित हुन सक्छ । पीक इनर्जी उत्पादनमा असर गर्ने छ ।’ आयोजनाको जलाशयमा पानी आउनुपूर्व नै पहिरो तथा बाढी व्यवस्थापन गर्न आवश्यक हुने उनको सुझाव थियो ।

कार्यक्रममा स्टयान टेकका राष्ट्रिय व्यवस्थापक मनोज भट्टराईले जलविद्युुतका क्षेत्रका नयाँ प्रविधिबारे अवगत गराएका थिए । उनले ग्रिन हाईड्रोजन पम्प स्टोरेज र सौर्य ऊर्जालाई समिश्रित रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेमा धारणा राखेका थिए । हरित हाईड्रोजनलाई नेपालमा बढी भएको बिजुली व्यवस्थापन गर्न विकल्पका रुपमा सकिने उनको भनाई छ । वित्तीय रुपमा अझै महँगो भए पनि नेपालका आरओआर जलविद्युत्मा उयुक्त हुन सक्ने बताउँदै उनले भने, “नेपालमा पम्प स्टोरेज पिकमात्र नभएर बेसलोड व्यवस्थापनमा पनि उपयोगी हुन सक्छ ।” पछिल्लो अध्ययन अनुसार नेपालमा सौय सम्भाव्यता अझै राम्रो छ । यसलाई पम्पस्टोरेजमा प्रयोग गरेर पिकमा जलबिद्युत् निकाल्न सकिन्छ ।”

एसएमइसी (स्मेक)की निर्देशक निता अरोराले नेपालमा २ हजारभन्दा बढी पम्पस्टोरेज बनाउन सकिने बताइन् । नेपालमा हालसम्म यस्ता आयोजना बनेका छैनन् । नेपाल विद्युत् प्राधिकरणले कुलेखानीमा यस्तो आयोजना बनाउन तयारी गरिरहेको छ ।

ऊर्जाको क्षेत्रीय बजारविस्तार सम्बन्धी तेश्रो सत्रका सहभागीले भने क्षेत्रीय विद्युुत् व्यापारका लागि नेपाल नीतिगत तथा पूर्वाधारका हिसावले नै अझै कमजोर रहेको औंल्याएका थिए ।
भारतीय उद्योग परिसंघका ऊर्जा सुरक्षा प्रमुख भुपेन्द्र कुमार सिंहले दक्षिण एसियामा उर्जा साझेदारीको उच्च सम्भावना रहेको औंल्याएका थिए । दक्षिण पूर्वी एसियामा पु¥याउन पनि भारत नेपाल ऊर्जा सहकार्य अझै बलियो बनाउन आवश्यक रहेको उनको भनाई थियो । उनले खास गरी नेपालमा विद्युत् उत्पादन सन्तुलनको अभाव र पूर्वाधारमा कमजोरी रहेको औंल्याएका थिए । “सार्वजनिक निजी साझेदारीमा थप पूर्वाधार बनाउनु उपयुक्त हुनेछ,” उनले भने ।

कार्यक्रममा अन्तरराष्ट्रिय वित्त निगम आईएफसीका विज्ञ भिष्म पण्डितले सरकारको कुटनीतिक पहल नीतिगत तयारी तथा प्राविधिक चुस्तता नपुगेको औल्याएका थिए । नेपालले भारत तथा बंगलादेशसँग विद्युत् व्यापार गर्न क्षेत्रीय बजारमा विद्युत्को ग्रिड कनेक्सन थप गर्नुपर्ने आवश्यक रहेको उनले बताए । नेपालको हरित विद्युत्ले बंगलादेशको खनिजमा आधारित विद्युत् समेत प्रतिस्थापन गर्न सक्ने अवसर रहेको उनको भनाई थियो ।

अपार सम्भावनाका बावजुद नेपालले दक्षिण एसियाली बजारमा प्रवेश गर्ने नीतिगत स्पटता नै देखाउन नसकेको बताएका उनले प्रश्न गरे, ‘विद्युत् निर्यात गर्न खोइ क्रस बर्डर इलेक्ट्रीसीटी गाईडलाईन, विद्युत् ऐन किन अझै पारित नगरेको?’ नेपालमा आन्तरिक बजार नै पर्याप्त विस्तार गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘अव निजी क्षेत्रले सिदै उद्योगमा विद्युत् आपूर्ति गर्न दिनुपर्छ तर खोई कार्यनीति तथा पूर्वाधार ?’ स्वेदशी बजारलाई नै व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा क्षेत्रीय बजारमा पहुँच पुराउन बहसमात्र गरेर नहुने नीतिगत तथा प्राविधिक तयारी पुरा गर्नुपर्ने उनको सुझाव छ ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिपकुमार थिकेले भने प्राधिकरणले स्वेदशमै विद्युत् खपत विस्तार गर्ने योजना गरिरहेको बताए । उनले भारतको खुला बजारमा पनि नेपाल नै पहिलो दक्षिण एसियाली मुलुकमा प्रवेश गरेको स्मरण गराउँदै आउँदो वर्षातमा ८ सय ५० मेगावाटसम्म निर्यात गर्ने अपेक्षामा रहेको बताए ।

छलफलमा बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले आगामी वर्षातमा ३ हजार ८०० गिगावाट घण्टा बिजुली धेरै हुने जानकारी दिँदै राष्ट्रिय ग्रिडमा जोडिन नपाएर बसेका आयोजनाको बिजुली खपत गर्न पूर्वाधार छिटो बनाउनु पर्नेमा जोड दिए । अहिले विद्यूत् नपुगेर औद्योगिक ग्राहकलाई अन्याय गरिएको भन्दै उनले पूर्वाधार बनाएर सवै आयोजनाको विजुली खपत गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

सरकारले निर्धारण गरेका कुनै पनि निर्धारित आवधिक लक्षहरु पुरा हुन नसकेको अवस्थालाई सरकारले गम्भिर भएर समिक्षा गर्नुपर्ने श्रेष्ठको भनाई थियो । निजी क्षेत्रको जलविद्युत् विकासमा गरिरहेको योगदानको अवमुल्यन नगर्न उनले आग्रह गरे । भारतीय बजारमा जान भारत नै अनुदार रहेको बताएका उनले नेपालले ऊर्जा कुटनीतिलाई थप बलियो बनाउन आवश्यक रहेको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।