बाह्र निर्जीवन बीमाको लाभांश प्रस्ताव, ३ ले दिएनन्, ३ को घोषणा हुन बाँकी

0
Shares

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये चैत २० गतेसम्म १५ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांशका निक्र्यौल गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये १२ कम्पनीले सेयरधनीलाई लाभांश वितरण गरेका हुन् । यो अवधिसम्म तीन कम्पनीले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गरेका छैनन् भने बाँकी तीन कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ ।

लाभांश प्रस्ताव गरेकामध्ये १२ मध्ये ७ कम्पनीले हालसम्म साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । थप तीन कम्पनीले साधारण सभा आह्वान गरेका छन् भने अन्य तीन कम्पनीले लाभांश प्रस्ताव गरेपनि साधारण सभा आह्वान गरेका छैनन् ।

हालसम्म सगरमाथा इन्स्योरेन्स, नेको, सिद्धार्थ, प्रिमियर, प्रभु, नेपाल, एनएलजी, लुम्बिनी, आईएमई जनरल, प्रुडेन्सियल, हिमालयन जनरल, र एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् । जसमध्ये सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बोनस सहित २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ भने सबैभन्दा कम एभरेष्ट इन्स्योरेन्सले ६ प्रतिशत बोनस सहित ६.३२ प्रतिशत लाभांश वितरण गरेको छ ।

गत आवको नाफाबाट तीन निर्जीवन बीमा कम्पनीहरु सानिमा जनरल, अजोड र युनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएका हुन् । अब तीन कम्पनीहरु शिखर इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ । नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत छैनन् ।

६ कम्पनीको सेयर किन्दा अझै लाभांश पाइने

लाभांश घोषणा गरेका १२ मध्ये ६ कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताले अझैपनि लाभांश पाउने अवस्था रहेको छ ।

लाभांश घोषणा गरेकामध्ये सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनर इन्स्योरेन्स, आईएमई जनरल, प्रुडेन्सियल इन्स्योरेन्स, र एभरेष्ट इन्स्योरेन्सको सेयर खरीद गर्ने लगानीकर्ताले अझैपनि सम्बन्धीत कम्पनीको लाभांश पाउनेछन् ।

नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, र हिमालयन जनरल इन्स्योरेन्सको भने साधारण सभाका लागि बुकक्लोज भैसकेकाले ती कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताले भने लाभांश पाउँदैनन् ।

पछिल्लो दिनमा सेयर बजार घटिरहेकाले पनि लाभांशमा आधारित लगानी बीमा कम्पनीको सेयरमा उपयुक्त अवसर देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।